राप्तीमा नौं महिनापछि बल्ल लाइसेन्सको लिखित परीक्षा हुँदै

राप्तीमा नौं महिनापछि बल्ल लाइसेन्सको लिखित परीक्षा हुँदै


यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले मोटरसाइकल चालकका लागि नयाँ लाइसेन्स वितरण गर्न लिखित परीक्षा सञ्चालनको तयारी गरेको छ ।  तीव्र दबाबपछि मात्रै आवेदन मागेको नौ महीनापछि बल्ल कार्यालयले मोटरसाइकल चालकका लागि लिखित परीक्षा गराउन प्रक्रिया शुरू गरेको हो ।

त्यसका लागि कार्यालयले सोमबारदेखि नै प्रवेश पत्र वितरणको काम शुरू गरिसकेको विभागका निमित्त कार्यालय प्रमुख याम बुढा मगरले जानकारी दिए । उनले पहिलो चरणमा आवेदक मध्येका एक रोल नम्बरदेखि चार हजार रोल नम्बरसम्मको लिखित परीक्षा हुने जानकारी दिए ।

बुढा मगरका अनुसार साउन २१ गते बिहान दश बजेदेखि बेलुका चार बजेसम्म तुलसीपुरस्थित गोरखा माविमा लिखित परीक्षा सञ्चालन गरिने छ । गत मंसिरमा सर्वसाधरणबाट आवेदन माग गरेपछि साढे १२ हजारले लाइसेन्सका लागि फाराम भरेको निमित्त कार्यालय प्रमुख बुढा मगरले बताए ।

त्यसमध्ये लगभग दश हजार नयाँ , स्कूटर चालक करीब एक हजार पाँच सय र थप्न चाहने आठ सयको हाराहारीमा रहेको निमित्त कार्यालय प्रमुख बुढा मगरले जानकारी दिए । साउन २१  गते नै पहिलो चरणको निर्वाचनले गर्दा स्थगित भएकाहरूको समेत परीक्षा लिइने बुढा मगरले जानकारी दिए ।

निमित्त कार्यालय प्रमुख बुढा मगरले अन्य आवेदकहरुको आवेदन कम्प्यूटरमा धमाधम इन्ट्रि गर्ने कार्य जारी रहेको जानकारी दिए ।

केही दिन पहिले मात्रै यातायात व्यवस्था विभागले परीक्षा सञ्चालनमा गरेको ढिलाइबारे सेतोपाटीमा  खबर  प्रकाशित भएको  थियो । त्यो खबर प्रकाशित भएलगत्तै आफू काठमाडौंमा रहेको र अबको एक हप्ताभित्रै लिखित परीक्षा सञ्चालन गर्ने विभागका प्रमुख अच्यूत दाहालले प्रतिबद्धता जनाएका थिए । दाहालले यसअघि गत माघ महीनामै नयाँ लाइसेन्स लिन चाहनेहरूका लागि आवेदन मागेको जानकारी दिएको भएपनि निमित्त कार्यालय प्रमुख वुढाले भने नौं महीना अर्थात गत मंसिरमै आवेदन मागेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.