पहेँलो कपडा पहिरिएर खाली खुट्टा सुन्दरीजल (तस्बिरमा)

पहेँलो कपडा पहिरिएर खाली खुट्टा सुन्दरीजल (तस्बिरमा)


पशुपति मन्दिरसहितका शिवालयमा जल चढाउनका लागि आवश्यक जल लिन भक्तजन आइतबार रातिदेखि काठमाडौंको सुन्दरीजल पुगेका छन्।

साउन महिनाको सोमबार कुनै पनि शिव मन्दिरमा शुद्ध जल चढाएमा पाप पखालिई पुण्य कमाइने र मनोकामना पूरा हुने धार्मिक विश्वासमा यो महिनाभर प्राय शिवालयमा मेला लाग्ने गरेको छ।

अझ पशुपतिनाथलाई त ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्गअर्थात् महा ज्योतिर्लिङ्गका रुपमा विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीले पुज्ने गर्दछन् ।

यसैकारण पनि साउन महिना र विशेषगरी सोमबार पशुपतिमा जल अर्पण गर्नका लागि भक्तजनको भीड लाग्ने गरेको छ । आइतबार बेलुकी नै सुन्दरीजल बस्न आइपुगेका भक्तजनले राति १२ बजेपछि नै सुन्दरीमाई मुनिको बाग्मतीमा स्नान गरी शुद्ध जल लिएर आउन सुरु गरेको कुपन्डोलबाट बोलबम मेलामा आएकी सिलु थापामगरले जानकारी दिए।

पहेँलो पहिरनमा खाली गोडा शुद्ध जल बाग्मतीको मुहानस्थलबाट लगी पशुपतिमा चढाउँदा मनोकाङ्क्षा पूरा हुने विश्वास छ।

विशेषगरी मधेसका जनसमुदायले भाग लिने गरेको बोलबमअर्थात् श्रावणी मेलामा विगत सात वर्षदेखि भने पहाडी समुदायका मानिसको पनि सहभागिता जुट्न थालेको छ ।

बोलबमबाट इच्छाइएको कुरा प्राप्ति हुने धार्मिक विश्वासमा बालकदेखि वृद्धसम्म यो यात्रामा सहभागी हुने गरेका छन् । ११ किलोमिटर लामो सुन्दरीजल पशुपतिनाथ श्रावणी मेलामा सहभागी बनिरहेका छन् ।

बालबालिका विद्या प्राप्ति, किशोर किशोरी विद्या, प्रेममा सफलता र रोजगारी, वयस्क एवम् वृद्धवृद्धाले भने सुख शान्ति र ऐश्वर्य प्राप्तिको कामनाका लागि सुन्दरीजलबाट शुद्ध जल लगी महादेवलाई अर्पण गर्दछन् ।

मेलाका लागि काठमाडौं मात्र होइन बाहिरबाट समेत हजारौँ भक्तजन उपत्यकामा भित्रिएका छन् ।

प्रेमीप्रेमिका र विवाहित जोडी भने आफ्नो जोडीकै साथमा पहेँलो कपडा पहिरिएर खाली खुट्टा ठूलो स्वरमा बोल बम भन्दै हिँड्छन् । यसले बाटामा हिँड्नेलाई समेत आकर्षित गरिरहेको रोचक दृश्यसमेत देखिन्छ ।

सुन्दरीजलबाट शुद्ध जल लिई आएका भक्तजन अहिले पशुपतिमा जल चढाउन लामो लाइन लागेर बसेका छन्।

हेर्नुहोस् तस्बिरमा 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.