अनलाइन सेवालाई अझै प्रभावकारी बनाइने श्रम तथा रोजगार मन्त्रालयको प्रतिबद्धता

अनलाइन सेवालाई अझै प्रभावकारी बनाइने श्रम तथा रोजगार मन्त्रालयको प्रतिबद्धता


श्रम तथा रोजगार मन्त्रालयले श्रम स्वीकृति, गुनासो सुनुवाइलगायत सेवालाई अझ प्रभावकारी बनाउने भएको छ । मन्त्री फरमुल्लाह मन्सुरको उपस्थितिमा मङ्गलबार  भएको बैठकमा श्रम स्वीकृतिलगायतमा अनलाइन सेवा गत वर्ष माघ १९ गतेदेखि नै शुरू भएपनि प्रभावकारी नभएको गुनासो बढेको थियो ।

बैठकले वैदेशिक रोजगारीमा गएका र फर्किएका कामदारको तथ्यांक अद्यावधिक गर्ने,  ती कामदारको ठगी, शोषण वा घटनालाई न्यूनीकरण गर्दै लैजाने तथा अध्यागमन – राहदानी – कन्सुलर सेवा विभागसँग भएका वैदेशिक रोजगारसँग सम्बन्धित तथ्यांक आवश्यकतानुरुप अनलाइनबाटै लिंक गरी वैदेशिक रोजगार व्यवस्थापन भरपर्दो र व्यवस्थित बनाउने निर्णय गरेको छ ।

बैठकमा सहभागी गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधिले अनलाइन पद्धतिबाट गरिने महत्वपूर्ण सेवा प्रवाह प्रणालीलाई विश्वसनीय र सुरक्षित बनाउँदै वैदेशिक रोजगार व्यवस्थापनमा प्रत्यक्ष सम्बन्ध भएका राहदानी र अध्यागमन विभाग तथा विदेशस्थित श्रम गन्तव्य मुलुकमा रहेका नियोगहरुसम्म आवद्धता गरी सेवा प्रवाह गर्न आवश्यक रहेकामा जोड दिँदै आफ्नो निकायबाट  सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

बैठकले ती विषयमा सात दिनभित्र प्रतिवेदन पेस गर्न वैदेशिक रोजगारी विभागका प्रमुख तेजराज पाण्डेको संयोजकत्वमा गृह, परराष्ट्र र श्रम मन्त्रालय एवं राहदानी – कन्सुलर सेवा –वैदेशिक रोजगार विभागका सूचना प्रविधि अधिकृत सम्मिलित नौ सदस्यीय समितिसमेत गठन गरेको छ । रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.