इन्जिनियरिङमा नयाँ भर्नाबारे आइओई र विद्यार्थीको विवाद

इन्जिनियरिङमा नयाँ भर्नाबारे आइओई र विद्यार्थीको विवाद


त्रिभूवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान(आइओई)ले निजी कलेजको प्रभावमा परेर इन्जिनियरिङ विषय पढ्न चाहिने मापदण्ड परिवर्तन गरेको आरोप विद्यार्थीहरूले लगाएका छन्।

यसअघि कक्षा ११ र १२मा गरी विज्ञान संकायमा २०० पूर्णाङ्कको गणित विषय पढेका विद्यार्थीले मात्रै इन्जिनियरिङ विषय पढ्न पाउने नियम थियो। यो नियमलाई परिमार्जन गर्दै संस्थानले १०० पूर्णाङ्क पढे पुग्ने नियम बनाएको छ। विद्यार्थी संख्या बढाउनका लागि यस्तो नियम बनाइएको भन्दै पुल्चोक क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले आज संस्थान समक्ष ज्ञापन पत्र बुझाएको सभापति रोशन थापा मगरले बताए।

‘अहिले इन्जिनियरिङ पढाउने नीजि कलेज धेरै थपिएका छन्,’ उनले भने, ‘ती कलेजका लागि विद्यार्थी जुटाउन यस्तो नियम लगाइएको हो। यो नीजि कलेज पोस्नका लागि ल्यायएको नियम हो। यसले इन्जिनियरीङको गुणस्तरमा प्रभाव पार्छ।’

इन्जनियरिङ पूर्णत गणितसँग सम्बन्धित विषय भएकाले २०० पूर्णाङ्क गणित नपढेका विद्यार्थीलाई प्रवेश परीक्षामा सामेल गर्नु अनुचित भएको उनको तर्क छ। विद्यार्थीसँग सम्बन्धित यस्तो विषयमा निर्णय गर्दा संस्थान नेतृत्वले स्ववियुसँग कुनै छलफल नगरेको उनको आरोप छ।

संस्थानका सहायक डिन रामचन्द्र सापकोटाले स्ववियुसँग छलफल गर्न नसकेको आरोप स्वीकार गरे। उनले भने, ‘हामीले व्यापक प्राज्ञिक छलफल गरी यो निर्णय लिएका हौं। तर छलफल गर्दै जाँदा स्ववियुसँग छलफल गर्न सकिएन। हाम्रो कमजोरी भयो।’ तर, नीजि कलेजको दबावमा यस्तो निर्णय लिएको आरोपको भने उनले खण्डन गरेका छन्।

‘अहिले पनि त्रिविका सबै कलेजको क्षमता भन्दा धेरै गुणा बढी विद्यार्थी छन्,’ उनले भने, ‘कुनै नीजि वा सरकारी कलेजलाई विद्यार्थी कम भएको छैन। त्यो निराधार आरोप हो।’

उनले त्रिविबाहेक नेपालका अन्य सबै विश्वविद्यालयमा एक सय पुर्णाङ्क पढेका विद्यार्थीलाई भर्ना गर्ने गरेको उदाहरण दिए र भने, ‘हामीले मात्रै अरू विद्यार्थीलाई बञ्चित गरेजस्तो भयो।

हामीसँग उनीहरूले गुनासो पनि गरे। त्यसैले नियम फेरेका हौं।’ अहिले प्लस टु तहमा पढाइ हुने विज्ञान फरक किसिमको भएकाले दुई सय पूर्णाङ्कको बाध्यात्मक व्यवस्था आवश्यक नहुने उनले बताए। ‘हामीले नियमलाई समयसापेक्ष बनाएका हौं,’ सहायक डिन सापकोटाले भने, ‘यसले अझ धेरै विद्यार्थीमाझ प्रतिस्पर्धा हुने अवस्था सिर्जना गर्छ। जसले गर्दा इन्जिनियरिङको गुणस्तर बढ्छ।’ 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.