मोदीको पत्रले मेरो मन छोयोः मुखर्जी

मोदीको पत्रले मेरो मन छोयोः मुखर्जी


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वतमान राष्ट्रपति प्रणव मुखर्जीलाई लेखेको पत्र अहिले चर्चामा छ।

मुखर्जीले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो कार्यकालको अन्तिम दिन मोदीले पठाएको पत्रले मन छोएको बताएका छन्।
मुखर्जीले सार्वजनिक गरेको पत्रमा मोदीले मुखर्जीलाई बुवा जस्तो मानेको बताएका छन्।

‘तीन वर्षअघि दिल्ली आउँदा म एक बाहिरिया थिएँ। मेरा अघि ठूलो र चुनौतीपूर्ण काम थियो। त्यो बेला तपाईँ मलाई पथप्रर्दशन गर्नुभयोे,’ मोदीले पत्रमा लेखेका छन्, ‘तपाईँको बुद्धिमत्ता, सल्लाह, सुझाव र  अात्मियताले  मलाई गहिरो आत्मविश्वास र बल दियो।’

मोदीले मुखर्जीको नीतिदेखि राजनीति, अर्थशास्त्रदेखि वैदेशिक मामिला सुरक्षा मुद्दादेखि राष्ट्रिय र विश्वव्यापी प्राथमिकताबारेको ज्ञानले आफू जहिले नतमस्तक भएको बताएका छन्।

‘मप्रति तपाईँ जहिले पनि सहहृदयी रहनुभयो। ब्यस्त दिन र लामो चुनावी अभियानमा सरिक भएर आउँदा ‘मलाई आशा छ तपाईँले आफ्नो स्वास्थ्यको पनि ख्याल गरिरहनु भएको छ,’ भन्ने तपाईँको एउटा फोन कल मेरा लागि तन्दुरुस्त अनुभव गर्न काफी हुन्थ्यो,’ मोदीले पत्रमा लेखेका छन्, ‘प्रणव दा, हाम्रो राजनीति यात्रा फरक दलबाट अघि बढ्यो। बेलाबेलामा हाम्रा विचारधारा फरक हुन्छन्। हाम्रा अनुभवहरु पनि फरक छन्। मेरो राज्यबाट मैले प्रशासनिक अनुभव सँगालें। तर यहाँले दशकौंसम्म राष्ट्रिय प्रशासन र राजनीतिको व्यापकता देख्नुभयो। तपाईँको राजनीतिक यात्रा र राष्ट्रपतीय कार्यकालमा अरु सबै कुरा छोडेर तपाईँले राष्ट्रको हितलाई सबैभन्दा माथि राख्नुभयो। राष्ट्रपति भवनको ढोका तपाईँले ती अभियान र कार्यक्रमका लागि जहिले पनि खुला राख्नुभयो जसले नवीनता र भारतको युवा पुस्ताको प्रतिभालाई चिनायो।’

मोदीले मुखर्जीलाई विना स्वार्थ समाजका लागि काम गर्न राजनीति गर्ने पुस्तासँग जोड्दै उनी भारतीयका लागि प्रेरणाको स्रोत बनेको पत्रमा उल्लेख गरेका छन्। ‘भारतले सधैं तपाईमाथि गर्व गर्नेछ। सबैलाई सँगै लिएर जानुपर्छ भन्ने तपाईको प्रजातान्त्रिक आदर्शलाई हामी निरन्तरता दिनेछौं,’ पत्रमा लेखिएको छ।

पत्रको अन्त्यमा मोदीले भनेका छन्– राष्ट्रपति जी, तपाईँको प्रधानमन्त्रीको रुपमा काम गर्न पाउनु मेरो लागि सम्मानको विषय हो।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.