महंगो परे पनि खोलाको जग्गा ठीकः आयल निगम (भिडियो)

महंगो परे पनि खोलाको जग्गा ठीकः आयल निगम (भिडियो)


नेपाल आयल निगमले खोलाका छेउमा जग्गा किनेर अनियमितता नगरेको स्पष्टीकरण दिएको छ। काठमाडौंमा बिहिबार पत्रकार सम्मेलन गर्दै आयल निगमले सबै प्रक्रिया पुर्‍याएर जग्गा किनिएको प्रष्टिकरण दिएको हो।

आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले आफूले ३६ वर्ष सडक विभागका बिताएको बताउँदै टेण्डर प्रक्रियाबारे आफू जानकार रहेको र सबै प्रक्रिया पुर्‍याएर जग्गा किनिएको बताए।

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जग्गा खरिद प्रकरणमा कुनै अनियमितता नभएको दावी गरेका हुन्।

कार्यकारी निर्देशक खड्काले जग्गा खरिद प्रकरणमा अनियमितता भएको भन्ने समाचारमा सत्यता नरहेको भन्दै आपत्ति पनि जनाए। पेट्रोलियम पदार्थको भण्डारणको लागि झापा, सर्लाही, चितवन र रुपन्देहीमा गरिएको जग्गा खरिद प्रक्रियामा ठूलो घोटाला भएको संसदीय समितिहरुले समेत आशंका गरिरहेका छन्। तर, आयल निगमका कार्यकारी निर्देशक खड्काले भने विहिबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी जग्गा खरिद प्रक्रियामा घोटाला भयो भनेर अडकालबाजी नगर्न चेतावनी दिए। उनले जग्गा खरिद गर्ने निर्णय विधिसम्मत भएको दावी गरे। उनले सरकारले दिएको नीति र निर्देशन, संसदीय समितिहरुले दिएको निर्देशन र निगम सञ्चालन समितिको निर्णय अनुसार जग्गा खरिद गरिएकाले यसमा अनियमितता हुने प्रश्नै नआउने तर्क पनि गरे।

कार्यकारी निर्देशक खड्काले जग्गा खरिदको विषयमा संसदीय समिति र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान थालि सकेकाले यसमा मिडियाले अड्बाजी गरिरहन नपर्ने पनि उल्लेख गरे। खरिद प्रक्रियालाई पारदर्शी बनाउन टेन्डर आह्वान गरिएको पनि उनले बताउ।

कार्यकारी निर्देशक खड्काले जग्गा खरिद प्रक्रिया आफूहरुको एकल निर्णयमा नगरिएकाले यसमा आशंका गरिरहन पर्ने अवस्था नरहेको पनि बताए। उनले पेट्रोलियम पदार्थको संकट हुन नदिन निगमले सरकारकै निर्देशनमा भण्डारण केन्द्र स्थापनाका लागि जग्गा खरिद गरेको पनि स्पष्ट पारे।

नेपाल आयल निगमले ३ गुणा बढी मूल्यमा जग्गा खरिद गरेर ठूलो आर्थिक घोटाला गरेको आशंका गर्दै संसदीय समितिहरुले त्यसको अनुसन्धान प्रक्रिया अघि बढाएका छन्। यता, अख्तियार दूरुपयोग अनुन्धान आयोगले पनि निगमको जग्गा खरिदबारे सम्पूर्ण कागजात झिकाएर अनुसन्धानको काम अघि बढाएको छ । पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक खड्काले आफूहरुले जग्गा खरिद प्रक्रियामा अनियमितता नगरेको र त्यसमा शंका लागे जग्गा खरिदको सम्पूर्ण कागजात हेर्न सकिने व्यवस्था गरिएको पनि बताए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.