प्रदेश नम्बर ७ का नगरमा कांग्रेस हाबी, गाउँमा एमालेसँग टक्कर

प्रदेश नम्बर ७ का नगरमा कांग्रेस हाबी, गाउँमा एमालेसँग टक्कर


असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ। शनिबार बिहानसम्म प्रदेश नम्बर ७ का चार नगरपालिकासहित २७ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। पछिल्लो मत परिणामअनुसार सुदूरपश्चिमका पहाडी नगरमा नेपाली कांग्रेस हाबी भएको देखिन्छ।

नेपाली कांग्रेसले चारमध्ये तीन नगरपालिका जितेको छ। उसले दार्चुलाको महाकाली, बैतडीको दशरथ चन्द र बाजुराको बडीमालिका नगरपालिकामा जित हात पारेको छ। मत गणना जारी रहेका डोटीका दीपायल सिलगढी र शिखर नगरपालिकामा पनि कांग्रेस उम्मेदवार अगाडि छन्। धनगढी उपमहानगरपालिकामा पनि कांग्रेस उम्मेदवारले अग्रता कायम राखेका छन्।

मत परिणाम सार्वजनिक भएका ९ गाउँपालिकामा कांग्रेसले जितेको छ। बाजुराका छेडदह र हिमाली गाउँपालिका, बझाङको काँडा, बैतडीको सुर्नया, डडेल्धुराका भागेश्वर, गन्यापधुरा र आलिताल र डोटीका केआइसिंह र बडीकेदार गाउँपालिकामा कांग्रेसले जित हात पारेको छ।

पहिलो चरणका चुनावमा कांग्रेसभन्दा बढी नगरमा जित हात पारेको नेकपा एमालेले सुदूर पहाडका परिणाममा भने धेरै नगरपालिका जित्न सकेको छैन। अहिलेसम्म एमालेले डडेल्धुराको अमरगढी नगरपालिका जित हात पारेको छ। गाउँपालिका भने एमालेले कांग्रेसको भन्दा बढी जितेको छ। सार्वजनिक भएकामध्ये ११ गाउँपालिकामा एमालेले जित हात पारेको छ।

बझाङका मष्टा, थलारा, बित्थडचिर, दुर्गाथली, तल्कोट, बाजुराका पाण्डवगुफा र गौमुल, दार्चुलाको लेकम र अपिहिमाल, बैतडीको पञ्चेश्वर र डडेल्धुराको नवदुर्गा गाउँपालिकामा एमालेले जित हात पारेको छ।

प्रदेश नम्बर ७ का पहाडमा दुई गाउँपालिका जितेको नेकपा माओवादी केन्द्रले तराईबाट पनि खाता खोलेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकामा कांग्रेसका बागी उम्मेदवार हुँदा नतिजा माओवादीको पोल्टामा गएको छ भने डोटीको बोगटान गाउँपालिकामा पनि माओवादीले जितेको छ। कञ्चनपुरको लालझाडीका गाउँपालिकामा जितेर माओवादीले प्रदेश नम्बर सातको तराईमा पनि जितको खाता खोलेको छ।

एक उपमहानगरसहित प्रदेश नम्बर सातमा ८८ स्थानीय तह छन्। अछाम र कैलाली जिल्लाका कुनै पनि स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छैन।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.