राजेन्द्र महतोको जवाफ, जुन उनकै गाउँलेलाई थाहा छैन

राजेन्द्र महतोको जवाफ, जुन उनकै गाउँलेलाई थाहा छैन

राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका राजेन्द्र महतो शुक्रबार आफ्ना बुवाको तेह्रदिने प्रसाद वितरण क्रममा। तस्बिर: गिरीश गिरी/सेतोपाटी


महेन्द्र राजमार्गस्थित फूलजोरबाट एउटा कच्ची बाटो जंगल छिचोल्दै दक्षिणतर्फ लाग्छ। सुरुमा पहाडे बहुल बस्तीहरू देखिन्छन्। त्यहाँ अहिले घरका छानामा सूर्य अंकित झन्डाहरु फहराइरहेका छन्।

करिब १० किलोमिटर बढेपछि बयलबास आइपुग्छ, जसलाई यतिबेला ईश्वरपुर नगरपालिका भनिन्छ। त्यहाँसम्म पनि पहाडे समुदायको उल्लेख्य बसोबास छ। त्यो बस्तीबाट पाँच किलोमिटर दक्षिण लागेपछि आइपुग्छ, बबरगन्ज।

पक्का मधेसको देहात झल्को दिने यो गाउँ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको हो। उनी केही दशकयता मधेसको राजनीतिलाई नेतृत्व दिँदै आइरहेका छन्। स्थानीय चुनाव बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलमा रहेका महतो यतिबेला गाउँमै पिताको शोकमा थिए। समवेदना प्रकट गर्न उनको घर पुग्नुअघि गाउँकै पाटीजस्तो स्थानमा ओत लागिरहेका दुई वृद्ध भेटिए।

उनीहरु थिए, खोरिया टोलका रामभुलस महतो (८५) र पबितर शरण (७४)।

राजेन्द्र महतोको गाउँमा भेटिएका रामभुलस महतो र पबितर शरण।

‘बाबा, चुनाव त भएन हगि?’ आफूले जानेको भोजपुरीलाई सकभर मैथिलीमा बुझाउने प्रयत्न गर्दै सोधेँ।

‘ख्वै बाबु, नेताहरु के के गर्छन्,’ पबितरले भने, ‘किन चुनाव गर्न दिएनन् भनेर हामी पनि आश्चर्य मानिरहेका छौं।’

अनि के कारण चुनाव गर्न नदिएको भनेर नेताहरुलाई सोध्नुभएन त?

‘हामी खेती-किसानी मान्छे किन त्यो सब लफडामा पर्छौं र?’ पबितरले भने, ‘चुनाव भयो भने भोट दिने हो नभए आफ्नो काम छँदैछ।’

उनले यति भनिनसक्दै सँगै बसेका रामभुलस बोले। गाउँमै बसेर साधुजस्तो जीवनयापन गर्ने भगतजी पाराका रामभुलसले चुनाव भइदिए गाउँको काम गरिदिने मुखिया पाइन्थ्यो भन्ने आसय व्यक्त गर्दै भने, ‘गाउँलेलाई त्यस्तो फाइदा हुने कुरा किन रोके होलान्?’

उनीहरुबाट विदा भएर म अघि बढेँ।

बबरगन्जको पनि दक्षिणी किनारतिर पुगेपछि एउटा गाउँले चोकजस्तो आइपुग्यो। त्यसबाट देब्रेतिर बढेको बाटो दुईतले पक्की घरमा टुंगिन्छ, जुन महतोको हो। दाहिनेतिरको बाटो एउटा विशाल मैदान भएको ‘दुर्गा खोभारी जनता उच्च माध्यमिक विद्यालय’मा पुग्छ। भारत सरकारको तर्फबाट निर्माण गरिएको र राजदूत श्याम शरणले शिलान्यास गरेको यो विद्यालय भवन भव्य छ। २०२१ सालमा प्राथमिक विद्यालयको रुपमा स्थापित स्कुलको नामसँग जोडिएको खोभारी राजेन्द्र महतोका पिताको नाम हो।

उनै खोभारीको शुक्रबार तेह्रदिने प्रसाद वितरण यसै स्कुलको प्रांगणमा हुनेवाला थियो, जसको बन्दोबस्त निम्ति राजेन्द्र महतो आफैं त्यहाँ कार्यरत मानिसलाई अह्राइरहेका थिए।

राजेन्द्र महतोको बुवाको नाम जोडिएको स्थानीय स्कुल ‘दुर्गा खोभारी जनता उच्च माध्यमिक विद्यालय’ जहाँ शुक्रबार उनको तेह्रदिने पुण्यतिथिको प्रसाद वितरण गरिएको थियो।

‘त्यो पर देखिएको एउटा पिपलको रुखबाहेक यहाँ कुनै घर थिएन,’ महतोले स्कुल स्थापना हुनेबित्तिकै आफू यहाँ पढ्न थालेको सम्झना गर्दै भने, ‘रुखमुनि बोरा ओछ्याएर कखगघ पढेको थिएँ।’

पाँच कक्षासम्म यहीँ पढेपछि उनी सदरमुकाम मलंगवा पुगेका रहेछन्। मलंगवा यही बाटो समात्दै अझ आठ किलोमिटर दक्षिण गएपछि पुगिने रहेछ। त्यहाँ एसएलसी सकेपछि उनी पढाइको निम्ति काठमाडौं पुगेका रहेछन्।

‘यो स्कुलबाहेक गाउँमा केही मठमन्दिर र पोखरी पनि बुवाले बनाउनुभएको छ,’ महतोले भने, ‘त्यसबाहेक उहाँ गाउँकै स्वास्थ्य केन्द्रको सञ्चालक समितिमा अध्यक्ष हुनुहुन्थ्यो।’

महतोका अनुसार उनी स्वास्थ्यमन्त्री भएकै बेला त्यो स्वास्थ्य केन्द्रलाई आठ करोडको लागतमा १५ बेडको अस्पताल बनाउने काम अघि बढेको थियो। ‘छेउछाउमै राम्रो उपचार केन्द्र नभएकाले सामान्य बिरामी पर्दा पनि मलंगवा वा जनकपुर पुग्नैपर्ने बाध्यता गाउँलेलाई थियो,’ उनले भने, ‘यति काम पूरा भएपछि स्वास्थ्यसम्बन्धी तकलिफ धेरै दूर हुन्छ।’

भारत सरकारले हुलाकी राजमार्ग बनाउने काम अघि बढाउन थालेको छ। त्यसैगरी महेन्द्र राजमार्गको नवलपुरदेखि मलंगवा जाने मुख्य बाटोको निर्माण थालनी गरिसकेको बताउने महतोका अनुसार त्यसपछिको दोश्रो प्राथमिकतामा फुलजोर भएर मलंगवा पुग्ने उनकै गाउँको बाटो पनि पक्की बन्नेछ। अनि बल्ल यो सम्पूर्ण भेगमा स्तरीय सडक सञ्जाल तयार हुने उनले जानकारी दिए।

यति कुरा गरिसकेपछि शोकमा बसेको बेला महतोलाई उनी राजनीतिक कुरा गर्न चाहलान् भनेर जिज्ञासा राखेँ। सुरुमा त टाउको हल्लाएर ‘नाइँ’ गरे। एकैछिनमा फेरि भने, ‘सोध्नुस् न, के सोध्न खोज्नुभएको हो?’

मैले अघि बाटैमा भेट भएका उनकै गाउँका दुई वृद्धका कुरा राख्दै सोधेँ, ‘मधेसमा चुनाव किन नभएको भन्ने कुरा किन मधेसीहरुलाई नै थाहा छैन?’
जवाफमा उनले सडक संघर्ष र चुनावमा यो मूलभूत अन्तर रहेको बताए।

‘सडक संघर्ष हुँदा आम मानिसले त्यसमा उसको अधिकारको कुरो देख्दो बुझ्दो रहेछ,’ उनले भने, ‘सायद शिक्षित नभएकै कारणले होला, चुनाव हुने बेलामा चाहिँ सबैले त्यही कुरालाई त्यस हिसाबले सोच्दैनन् रहेछ।’

त्यसैगरी मधेसमा आफूहरुको सीमित संगठन र कार्यकर्ताले गर्दा पनि ठूला दलले गरिदिने ठीक विपरित कुराले मानिसको बुझाइ फरक पारिदिने उनले बताए। ‘मधेसमै ८८ प्रतिशत कांग्रेस, एमाले र माओवादीले जितेका छन्,’ उनले थपे, ‘उसको संगठन र कार्यकर्ताको जोडका अघिल्तिर हाम्रा कुरा स्वाभाविक रुपले मसिनो भइदिन्छ।’

उनले तेश्रो कारण चाहिँ मिडियालाई औंल्याए।

‘सिगों देशभर काठमाडौंवादी मिडिया हावी छ,’ उनले भने, ‘उनीहरुको एकतर्फी कुरा मात्र सबैतिर पुगिरहेको छ।’

यस्तो परिस्थितिमा जबर्जस्ती चुनावहरु लाद्दै जाने हो भने चुनाव मात्र होइन, यो सातौं संविधान पनि फेल हुने उनले दाबी गरे।

मैले पछिल्ला केही दिन मधेस घुम्दा बहुसंख्यक मतदाताले आफ्ना दैनिक सरोकार जोडिएको स्थानीय निकायको निर्वाचनलाई नबिथोलिदिए हुन्थ्यो भन्ने मनसाय व्यक्त गरेको जानकारी महतोलाई गराएँ।

‘लोकल चुनावमा स्थानीय मानिस र स्थानीय नेताहरुको रुचि जोडिएको हुन्छ भन्ने त प्रस्टै छ,’ उनले स्वीकारे, ‘त्यसै पनि २० वर्षदेखि रोकिएको चुनाव अरु सबैतिर भइरहँदा दुई नम्बर प्रदेस मात्र बाँकी रहनुको पीडा हामीलाई पनि भइरहेको छ।’

राजेन्द्र महतो

स्थानीय चुनावलाई लिएर सर्वसाधारणमा उत्पन्न चिन्ता र चासोलाई उनले स्वाभाविक र सही बताए।

‘दैनिक रुपमा काम लाग्ने मान्छे चुन्ने कुरा हो,’ उनी स्वयंले भने, ‘जितेपछि काठमाडौं गएर बस्नुपर्ने सांसदको चुनाव होइन।’

आफूले समेत स्वीकारेको यस्तो विषयमा शासक वर्गले ‘प्रोपोगाण्डाको पेनिट्रेसन’ बढाएर सर्वसाधारणलाई अत्याइदिएको उनको भनाइ छ। ‘मुख्य बुझ्नुपर्ने कुरा यो चुनाव संविधानको कार्यान्वयनसँग जोडिएको विषयवस्तु हो,’ उनले भने, ‘यो सन्देशचाहिँ आम मानिससम्म नपुगिरहेको अवस्थामा कुरा अलिक प्रष्ट हुन सकिरहेको छैन।’

‘संविधान कार्यान्वयनसँग स्थानीय चुनावपछिका दुईवटा चुनावलाई पनि त जोड्न सकिन्थ्यो?’ मैले सोधेँ।

‘यो तीनवटै चुनाव जोडिएको छ,’ उनले भने, ‘सहिद हुनेहरु संविधानमा अधिकार खोज्न मरेका थिए, मुखिया र मेयर बनाउन होइन।’

‘अब सरकारले चाह्यो भने त बम, बन्दुक, गोलाबारुदको बलमा यो प्रदेसमा पनि सम्पन्न गराइहाल्छ,’ उनले अगाडि भने, ‘गराओस्। तर, यो चुनावको प्रतिकार, यो चुनावको विरोध र यो चुनावको बहिष्कार भएको छ भन्ने सबैलाई थाहा छ।’

महतोका अनुसार यो चुनाव गराउनुभन्दा पहिल्यै संविधान संशोधन गराइनुपर्थ्यो। जनसंख्याका आधारमा गाउँपालिका र नगरपालिकाको संख्या तोकिनुपर्थ्यो। आन्दोलनमा लागेका मानिसमाथिको झुठा मुद्दा खारेज हुनुपर्थ्यो।

‘यो सबै जनताकै माग हुन् जसलाई बेवास्ता गरेरै चुनाव गराउनतर्फ लागे,’ उनले भने, ‘यो ठीक भएन।’

आफूहरुको प्रान्तीय सिमांकनसम्मकै मुद्दा यथावतै भए पनि अहिलेलाई स्थानीय चुनाव सम्पन्न होस् भनेर केही लचक अपनाएको उनले बताए। महतोका अनुसार त्यसपछि नै परिमार्जनसहित संशोधनको कुरा उठेको थियो। मानिएन। त्यसपछि स्थानीय तहमा केही नगर र गाउँको संख्या जनसंख्याकै अनुपातमा बढोस् भनेर माग राखियो। त्यो पनि भएन।

‘अनि कसरी मान्ने?’ उनले भने, ‘योभन्दा बढी लचकता कसरी अपनाउने?’

‘संख्या त सरकारले बढाएकै थियो,’ मैले सोधेँ, ‘अदालतले रोकिदिएपछि के गर्ने?’

‘त्यो हामी मान्दैनौं,’ उनले भने, ‘संविधानमै हाम्रो मतभेद छ। संविधानै हामीप्रति विभेदकारी बनेको छ भनिसकेपछि संविधानको व्याख्या गर्ने निकायले हाम्रो पक्षमा निर्णय गर्छ भनेर कसरी पत्याउने? अदालतको कुरामा त के अचम्म मान्ने? त्यसैले त्यो सबै मिलाउने काम राज्यकै हो।’

स्थानीय तहमा जितेकालाई राष्ट्रपति-उपराष्ट्रपति निर्वाचनमा मतदानको अधिकार नदिने माग महतोहरुले नै राखेका थिए। त्यसबाहेक नगर र गाउँपालिकाहरुलाई जनसंख्याका आधारमा बजेट पठाउने घोषणा पनि भइसकेको छ। ‘यस्तो अवस्थामा स्थानीय तह थप हुनु र नहुनुमा के फरक पर्थ्यो?’ मैले सोधेँ।

‘ख्वै संविधान संशोधन भएको?’ महतोले भने, ‘संशोधन नभएका कारण पहिलेका सबै प्रावधान कायमै हुने भएकैले हामीले त्यसो भए जनसंख्याका आधारमा स्थानीय तह थपिदेउ भनेका हौं।’

यहाँ आफूहरुलाई यसैगरी अलमल्याएर चारैतिरबाट घेराबन्दी गरिएको उनले बताए। ‘पहिलो कुरा त परिमार्जनसहित संविधान संशोधन भइदिएको भए त्यो कुरै बाँकी रहँदैन थियो,’ उनले भने, ‘अब यसबीच बहसका क्रममा उठेको कुरालाई पनि संविधानमा संशोधनै भइसकेको जस्तो गरेर प्रचारित हुँदैछ। यसरी यथास्थितिमै संविधानलाई ठप्पा लगाउने काम भइरहँदा कसरी समर्थन जनाउने?’

‘अब असोज २ गते मधेसमा चुनाव गराउन केही पहल भइरहेको छ?’ मैले सोधेँ।

‘गर्छु त जहिल्यै पनि भनिरहेकै छन्,’ उनले थपे, ‘यहाँ त गरि पो रहेका छैनन्।’

मैले दुईतिहाइ पुर्याउन नेकपा (एमाले) को अपरिहार्यता स्मरण गराउन खोजेँ।

‘हामी यो कुरा मान्दैनौं,’ उनले भने, ‘बनाउने बेला सब एक भएर बनाए। त्यसलाई सच्याउने बेला चाहिँ फलानो मानेन र ढिस्कानो मानेन भनेर कहाँ हुन्छ?’

राजेन्द्र महतो

महतोका अनुसार जसरी बनाउने बेला कांग्रेस, एमाले र माओवादी मिलेका थिए त्यसैगरी संशोधनको बेला पनि तीनवटै दल मिल्नै पर्छ। परिमार्जनसहित संविधान संशोधनका कुरा अघि बढे असोज २ गते हुने चुनावमा आफूहरुको विरोध नरहने महतोले बताए।

‘भलै हामीलाई खुम्च्याएर दुई नम्बर प्रदेसमा सीमित पार्न खोजेजस्तो देखाइएको छ,’ उनी भन्छन्, ‘तर, संशोधन भयो भने हाम्रो मुद्दा अघि बढ्छ र यो मेचीदेखि महाकालीसम्मको जीत हुन्छ।’

त्यसो नगर्ने हो भने पनि बन्दुक प्रयोग गरेरै सरकारले दुई नम्बर प्रदेसमा चुनाव गराउन सक्ने बताउँदै महतो भन्छन्, ‘त्यसले मधेसको मुद्दा नै समाप्त भयो भनेर सोच्नु ठूलो भूल हुनेछ।’

दोश्रो चरणको चुनाव घोषणा भएलगत्तै राजपाका अर्का अध्यक्ष महन्थ ठाकुरको सिके राउतसँग भेट भएको भन्ने हल्लालाई महतोले ठाडै अस्वीकार गरे। ‘उनको एजेण्डा र हाम्रो एजेण्डामा कुनै मेलै खाँदैन,’ महतोले भने, ‘राउतले मधेसलाई मुलुकै अर्को बनाउने कुरा गरिरहेका छन् हामी चाहिँ सबै जनता अधिकारसम्पन्न भएको बलियो नेपाल बनाउने कुरा गरिरहेका छौं।’

उनले अगाडि भने, ‘नेपाल सबै नेपालीको हो र सबै नेपालीको बन्नुपर्छ।’

उनले मधेसको निम्ति आफूहरु लडिरहेको भए पनि यसले मधेसमा बस्ने पहाडेहरुको चित्त फाट्न नहुने बताए। बरु त्यो खाल्डो चाँडै पुरेर एउटा सौहार्दपूर्ण समाजका रुपमा मुलुकलाई अघि बढाउन ढिलो भइरहेको उनको धारणा रहेछ।

‘अस्ति राष्ट्रपतिजीले सबै नेताहरुको बैठक बोलाउनुहुँदा मैले अघिल्लो दिन संसदमा प्रदीप गिरिले गर्नुभएको भाषण मात्रै भए पनि सबैले सुनिदिए हुन्थ्यो भनेर अनुरोध गरेको थिएँ,’ उनले परिस्थिति बुझेका पहाडे र मधेसीहरुमाझ समझदारीमा समस्या नरहेको उल्लेख गर्दै भने, ‘प्रदीपजीको मर्मलाई मात्र बुझिदिए भने पनि समस्या हल गर्न सजिलो हुन्छ।’

आफूहरुले न बन्दुक उठाएको न मुलुक अलग पार्ने कुरा गरेको बताउँदै महतोले त्यो दुईवटै अतिवाद भएको सुनाए।

‘यस्तोमा हामीले उठाएको सवाल हामीले उठाएको तरिकाबाट समाधान भएन भने यो मधेस कता जाला?’ उनले गम्भीर भएर भने, ‘हामी असफल भयौं भने को सफल होला? मुख्य प्रश्न नै यही हो।’

मैले गम्भीर मोडमा पुगिसकेको कुरालाई रमाइलो अन्त्य दिने प्रयास गरेँ।

‘तपाईं दाह्रीजुँगा काटेको बेला त मान्छे नै अर्को देखिनुहुँदो रहेछ,’ भनेँ, ‘अलिक खस्रो मान्छेजस्तो देखाउने त्यो दाह्रीजुँगालाई त्यागेरै पो अबको प्रयास गर्ने कि?’

उनी हाँसे।

‘पाँच वर्षअघि आमा बित्नुहुँदा पनि यसैगरी गाउँमा आएर दाह्रीजुँगा काटेको थिएँ,’ उनले भने, ‘विद्यार्थी उमेरदेखि पाल्दै आएको कुरा हो। नहुँदा कस्तो कस्तो लाग्दो रहेछ।’

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.