राति साढे १ बजेको अपडेटः एक नम्बर प्रदेशमा को कहाँ अगाडि

राति साढे १ बजेको अपडेटः एक नम्बर प्रदेशमा को कहाँ अगाडि


झापा, मोरङ, इलाम, धनकुटा,सुनसरी, तेह्रथुम, पाँचथर, उदयपुर, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, सोलुखुम्बु र संखुवासभा गरी १४ जिल्ला रहेको प्रदेश नम्बर १ मा एमालेले अग्रता लिएको छ।

राति साढे १ बजेसम्मको मत परिणाम अनुसार नेकपा एमालेले १३७ स्थानमध्ये १०१ स्थानमा आएको पछिल्लो परिणाममा ४८ स्थानमा अग्रता लिएको छ। नेपाली कांग्रेसले ४४, माओवादी केन्द्रले ९ र अन्य साना दलले ४ स्थानमा अग्रता लिएका छन्।

१ महानगर, २ उपमहानगर, ४५ नगरपालिका र ८९ गाउँपालिका गरी १३७ वटा स्थानीय तह रहेको प्रदेश नम्बर १ मा ७ हजार ८५९ जनप्रतिनिधि निर्वाचित हुन्छन्। यति पदका लागि २४ हजार ६५२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

एक मात्र महानगरपालदिका विराटनगरको मेयरमा भीमको अग्रता बढ्दै गइरहेको छ। सार्वजनिक भएको २०० मत परिणाममा कांग्रेसका भीम पराजुलीले नेकपा एमालेका विनोद ढकालभन्दा ४१ मतले अग्रता लिएका छन्।

भीमले १ सय १ मत ल्याएका छन्। ढकालले ६० मत ल्याएका छन्। संघीय समाजवादी फोरमका उमेश यादवले २ र राष्ट्रिय प्रजातान्त्रिक पार्टीका प्रल्हाद साहले ३ मत प्राप्त गरेका छन्।

यस्तै दुई उपमहानगरपालिका इटहरी र धरानमा कांग्रेसकै उम्मेद्वारले अग्रता लिएका छन्।

सुनसरीको इटहरीमा कांग्रेसका रोहित प्रसाई ४ सय ३१ मत प्राप्त गर्दै अगाडि छन्। उनका प्रतिद्वन्दी एमालेका द्धारिकालाल चौधरीले ३ सय ३२ मत प्राप्त गरेका छन्।

सुनसरीकै अर्को उपमहानगरपालिका धरानमा पनि कांग्रेसका तिलक राई १ सय ४१ मतका साथ अग्रस्थानमा छन्। उनलाई ६१ मत ल्याएर एमालेका तारा सुब्बाले पछ्याइरहेका छन्।

बाँकी नगरपालिकामा एमाले र कांग्रेसको अग्रता छ। झापाका सबै  नगरपालिकामा एमालेले अग्रता लिएको छ।

राति साढे १ बजेसम्मको नतिजा अनुसार जिल्लाका आठ वटा नगरमध्ये सबै नगरपालिकामा एमालेको अग्रता कायमै छ। भद्रपुर, दमक, गौरादह, अर्जुनधारा, बिर्तामोड, शिवसत्ताक्षी, मेचीनगर र कनकाई नगरपालिकामा एमालेका उम्मेद्वारले अग्रता लिएका हुन्।

झापाका सात गाउँपालिकामध्ये बुद्धशान्ति, बाह्रदशी र कमल गाउँपालिकामा पनि एमालेको शुरूवाती अग्रता छ । झापा गाउँपालिका र कचनकवल गाउँपालिकामा काँग्रेसको अग्रता छ भने हल्दिबारीमा राप्रपा र गौरीगञ्ज गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएका छन्। झापामा ८ नगर र ७ गाउँपालिका छन्।

यता झापाको पहाडी जिल्ला ताप्लेजुङमा नेकपा एमालेले प्रारम्भिक अग्रता कायम राखे पनि कांग्रेसले बाँकि २ जिल्ला पाँचथर र इलाममा अग्रता बनाएको छ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा एमालेका छत्रपति प्याकुरेलले १ सय ९५ मत ल्याएर अग्रता बनाएका छन्। यहाँ कांग्रेसका केशवप्रसाद दाहालले १ सय २८ मत प्राप्त गरेका छन्।

तर, इलाम नगरपालिकामा कांग्रेसका हिमाल कर्मचार्यले ७ सय ५० मत ल्याएर अग्रता बनाएका छन्। १ हजार ८ सय ५४ मत गणना हुँदा एमालेका महेश बस्नेत ७ सय ४ मत ल्याएर दोस्रो स्थानमा छन्।

पाँचथरको फिदिम नगरपालिकामा पनि कांग्रेसका ओनाहाङ नेम्बाङले ३ सय ३९ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका राजकुमार भण्डारीले २ सय ८३ मत प्राप्त गरेका छन्।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.