प्रदेश ५ मधेस केन्द्रीत दल पनि उपस्थिति पुष्टि गर्दै, राजपाका उम्मेद्वारको अग्रता

प्रदेश ५ मधेस केन्द्रीत दल पनि उपस्थिति पुष्टि गर्दै, राजपाका उम्मेद्वारको अग्रता


प्रदेश नं २ को निर्वाचन स्थगित भए पनि प्रदेश नं ५ को निर्वाचनमा मधेस केन्द्रीत दलहरू सहभागि छन्। मधेसमा निर्वाचन बहिष्कारसहित आन्दोलनको घोषणा गरेको राजपा स्वतन्त्र उम्मेद्वार खडा गर्दै निर्वाचनमा छ। अनि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पनि निर्वाचनमा सहभागि छ।

मुख्य प्रतिष्पर्धा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबीच भइरहे पनि मधेस केन्द्रीत दलहरुले पनि उपस्थिति राम्रो देखाइरहेका छन्।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा राजपाका तर्फबाट उम्मेद्वारी दिएका स्वतन्त्र उम्मेद्वार मनमोहन चौधरीले अग्रता लिएका छन्। उनले ३ सय ८५ मत प्राप्त गरेका छन्। चौधरीलाई फोरम लोकतन्त्रिकका उम्मेद्वारले १ सय ८५ मतका साथ पछ्याइरहेका छन्। संघीय समाजवादी फोरम नेपालका उम्मेद्वारले १७३ मत प्राप्त गरेका छन्।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका स्वतन्त्र उम्मेद्वारी दिएको राजपाका उम्मेद्वारले कांग्रेस उम्मेद्वारसँग कडा प्रतिष्पर्धा गरिरहेका छन्। कांग्रेस उम्मेद्वारलाई स्वतन्त्र उम्मेद्वारले झिनो मतअन्तरका साथ पछ्याइरहेको मुख्य निर्वाचन अधिकृत विश्वमंगल आत्रेयले जानकारी दिए।

राजपा जस्तै नवलपरासीमा संघीय समाजवादी फोरम नेपाल र मधेसी जनाधिकार फोरम लोकतान्त्रिक फोरम नेपालका उम्मेद्वारले लिड गरिरहेका छन्। पाल्हीनन्दन गाउँपालिकामा संघीय समाजवादी फोरम अगाडि छ। निर्वाचन अधिकृत लोकराज पन्थीका अनुसार वडा नं १ मा फोरमका उम्मेद्वारले वडा अध्यक्ष जितेका छन्। वडा नं १ र २ को गणना गर्दा संघीय समाजवादी फोरम नेपालले अग्रता हासिल गरिरहेको उनले बताए।

नवलपरासीकै सरावल गाउँपालिकामा फोरम लोकतान्त्रिक अगाडि छ। त्यहाँ पनि एउटा वडाको गणना सकिएको छ। सरावलका निर्वाचन अधिकृतक टिकाराम ज्ञवालीले फोरम लोकतान्त्रिकका उम्मेद्वार अगाडि रहेको बताए। ‘वडा नं १ को घोषणा भयो। ७ वडा छन्। वडा नं ७ बाट गणना गर्दैछौँ’, उनले सेतोपाटीसँग भने, ‘गणना जारी छ।’

बाँकेको डडुवा र नैनापुर गाउँपालिकामा पनि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल अगाडि छ। बाँकेमा ८ स्थानीय तह रहेका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.