रुकुमका ३ वडामा माओवादी केन्द्र विजयी

रुकुमका ३ वडामा माओवादी केन्द्र विजयी


रुकुमका ३ वडामा माओवादी केन्द्र विजयी भएको छ । सिस्ने गाउँपालिकाका १ र ८ र भुमे गाउँपालिका १ मा माओवादी केन्द्रको प्यानलनै विजयी भएको हो।

सिस्ने १ मा मानवहादुर बुढाको प्यानलै विजयी भएको छ। बुढाले ३ सय ४७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका पूर्णबहादुर बुढाले २ सय ५८ मत पाए  वडा नम्बर ८ मा माओवादी केन्द्रका खर्कसिंह थापाको प्यानलै विजयी भएको छ।

थापाले ५ सय ४८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी गठबन्धनबाट एमालेका देउभक्त खत्रीले १ सय ६७ मत मात्र प्राप्त गरे। सिस्ने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ६ ओटा गाउँपालिकामा कांग्रेस–एमालेले तालमेल गरेका छन् । २ वडामा विजयी भएपछि गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा पनि माओवादी केन्द्र अगाडी छ।

अध्यक्षमा माओवादी केन्द्रकी कुमारी बरालले ८ सय ९० मत प्राप्त गर्दा गठबन्धनबाट एमालेका नन्दलाल शर्माले ३ सय ८९ मत पाएका छन्। त्यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रका गोवर्धन बुढा ८ सय ८२ मत सहित अग्रस्थानमा रहेका छन्। उनका प्रतिद्वन्दी गठबन्धनबाट कांग्रेसका लक्षिराम घर्तीले ३ सय ४६ मत प्राप्त गरेका छन्।

त्यस्तै भुमे १ मा माओवादी केन्द्रका रामचन पुनको प्यानलै विजयी भएको छ। पुनले ३ सय मत प्राप्त गर्दा एमाले ताराप्रसाद पुनले १ सय ९९ मत पाएका छन्। उक्त वडामा कांग्रेसको उम्मेदवार थिएनन। भुमे गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा पनि माओवादी केन्द्र अगाडी छ। माओवादीका तर्फबाट अध्यक्ष उम्मेदवार रामसुर बुढाले ३ सय मत ल्याउँदा एमालेका आशा स्वर्णकारले एक सय ९९ र कांग्रेसका गञ्जसिंह बुढाले ३ मत पाएका छन्। उपाध्यक्षमा माओवादी केन्द्रकी मनकुमारी बुढा बिष्टले ३ सय १, एमालेका कमानसिंह डाँगीले १ सय ९९ र कांग्रेसका कमला खड्काले ३ मत प्राप्त गरेकी छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.