प्रदेश ५ मा कांग्रेस र एमालेबीच तीव्र प्रतिष्पर्धा

प्रदेश ५ मा कांग्रेस र एमालेबीच तीव्र प्रतिष्पर्धा


प्रदेश नं ५ का जिल्लाहरुमा सुरुवाती मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेबीच तीव्र प्रतिष्पर्धा देखिएको छ। चार उपमहानगरपालिका रहेको प्रदेश नं ५ को नेपालगञ्जमा गणना सुरु भएको छैन।

बुटवलमा कांग्रेसका खेलराज पाण्डे अगाडी छन् भने एमालेका शिवप्रसाद सुवेदी पछाडि छन्। दाङको तुलसीपुरमा एमालेका घनश्याम पाण्डे अगाडि छन्। घोराहीमा एमालेका नरुलाल चौधरीले अग्रता लिएका छन्।

गए राति नै सबैजसो क्षेत्रमा मतपेटीका संकलन गरिएको भए पनि अबेर गरि मतगणना सुरु भएको थियो। बिहानदेखि अधिकांश स्थानमा मतगणना सुरु भए पनि गणना निकै ढिलो चलिरहेको छ। गणनामा कांग्रेस र एमालेबीच प्रतिष्पर्धा देखिएको छ। माओवादी केन्द्र तेस्रो स्थानमा छ। संघीय समाजवादी फोरम नेपाल र फोरम लोकतान्त्रिक पनि केही स्थानमा अगाडि छन्।

नवलपरासीका सबै ७ स्थानीय तहमा मतगणना जारी रहेको छ। त्यहाँ कांग्रेसले अग्रता लिइरहेको छ। ४ वटा स्थानीय तहमा कांग्रेस अगाडि छ। प्रतापुर, बर्दघाट, रामग्राम र सुनवलमा कांग्रेसले अग्रता लिइरहेको छ। एमाले भने त्रिवेणी सुस्तामा मात्र अगाडि छ। पाल्हीनन्दन गाउँपिकामा संघीय समाजवादी फोरम अगाडि छ भने सरावल गाउँपालिकामा फोरम लोकतान्त्रिक अगाडि छ।

पाल्पाका १० स्थानीय तह मध्ये ७ तहमा गणना सुरु भएको छ। जसमध्ये बाहिरिएको तथ्याङ्कमा बनासकाली र माथागढीमा कांग्रेसले सुरुवाती अग्रता लिएको छ।

कपिलवस्तुमा मतगणना सुरुवात भएर पनि स्थगित भएको छ। तौलिहवा नगरपालिकामा बदर मत र सदर मत विवाद भएपछि पुन गणनाको तयारी भैरहेको छ।

बर्दियामा माओवादी केन्द्रले अग्रता लिइरहेको छ। त्यहाको गेरुवा गाउँपालिकामा, बार बर्दिया र मधुवन नगरपालिकामा माओवादीले अग्रता लिइरहेको छ। ठाकुरबाबा र बासगढी नगरपालिकामा एमाले अगाडि छ। राजापुर नगरपालिकामा कांग्रेसले अग्रता लिइरहेको छ।

बाँकेमा कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकामा कांग्रेस अगाडि छ। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पनि डडुवा र नैनापुर गाँउपालिकामा अगाडी छ। बैजनाथ र राप्ती सोनारी गाउँपालिकामा भने एमालेले सुरुवाती अग्रता लिइरहेको छ।

बाँकेको नेपालगञ्ज उपमहानगरमापालिकामा मतगणना सुरु भएको छ तर परिणाम आएको छैन।

रुपन्देहीको बुटवल उपमहानगरमा कांग्रेसले अग्रता लिइरहेको छ। देवदह र सिद्धार्थनगरमा पनि कांग्रेस अगाडी छ। सैनामैना र तिलोत्तमा भने एमाले अगाडि छ।

दाङमा एमाले चार र माओवादी केन्द्र तीन स्थानमा अगाडि छन् भने कांग्रेस एउटाम अगाडि छ। त्यहाँको तुलसीपुर उपमहानगरपालिका र घोराही दुवैमा एमालेले सुरुवाती अग्रता लिएको छ। त्यस्तै गढवा, दंगीशरण गाउँपालिकामा एमाले अगाडि छ।

राजपुर, शान्तिनगर र राप्ती गाउँपालिकामा भने माओवादी केन्द्र अगाडि छ। बंगलाचुली कांग्रेसले अग्रता लिइरहेको छ।

रोल्पाका पनि सबै १० वटै स्थानीय तहमा मतगणना सुरु भएको छ। तर सबै क्षेत्रको मतपरिणाम सार्वजनिक भैसकेका छैनन्। रोल्पा नगरपालिकामा माओवादी केन्द्र अगाडी छ। कांग्रेसले त्यहाँ पछ्याइरहेको छ। त्यहाँको त्रिवेणी गाउँपालिकामा कांग्रेस अगाडि लागेको छ ।

प्युठानमा २ स्थानीय तहमा कांग्रेस र २ स्थानीय तहमा एमाले अगाडि छ। मल्लरानी र सरुमारानी गाउँपालिकामा एमाले अगाडि छ भने कांग्रेसले गौमुखी झिम्रुकमा अग्रता लिइरहेको छ।

गुल्लीमा पनि कांग्रेस र एमालेबीच तीव्र प्रतिष्पर्धा देखिएको छ। रेसुङ्गा नगरपालिकामा कांग्रेस अगाडी छ। गुल्मीदरबार गाउँपालिकामा कांग्रेस अगाडि देखिएको छ। छत्रकोट र रुरु गाउँपालिकामा एमाले अगाडि छ। चन्द्रकोटमा भने माओवादी केन्द्र अगाडि छ।

नेपालगन्जबाट कृष्ण अधिकारी, बुटवलबाट भगवती पाण्डे र दाङबाट नारायण खड्का

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.