रोल्पामा ७० प्रतिशत मत खस्यो,थवाङ दशकपछि चुनावमा

रोल्पामा ७० प्रतिशत मत खस्यो,थवाङ दशकपछि चुनावमा


रोल्पामा करिब ७० प्रतिशत मत खसको प्रारम्भिक अनुमान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

१० वटा स्थानीय तहमा करिब ७० प्रतिशत मत खसेको अनुमान छ।

जिल्लाका एक नगरपालिका र ९ गाउँपालिकामा शान्तिपूर्ण मतदान भएको मुख्य निर्वाचन अधिकृत कमल प्रसाद ज्ञवालीले बताए।

त्रिवेणी गाउँपालिकामा ७५ प्रतिशत, थबाङ गाउँपालिकामा ६३ प्रतिशत, सकिदहमा ६६ प्रतिशत, रुन्टीगढीमा ७१ प्रतिशत, रोल्पा नगरपालिकामा ७१ प्रतिशत मत खसेको बताइएको छ।

रोल्पा जिल्लामा ८० मतदान स्थल तथा १ सय ५४ वटा मतदान केन्द्र रहेका थिए। रोल्पा जिल्लामा पुरुष ५६ हजार ८६ जना पुरुष र महिला ६० हजार ४ सय ७५ गरी जम्मा १ लाख १७ हजार २ सय ६१ जना मतदाता रहेकोमा ८१ हजार ७७ मत खसेको बताइएको छ।

यसैबीच सभामुख ओनसरी घर्तीले रोल्पा नगरपालिका–७ बालउदय मावि जङ्कोट मतदान केन्द्रबाट विहान ७ बजे मतदान गरेकी छन्।

सभामुख घर्तीसँगै उनका पति माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले पनि सोही मतदान केन्द्रबाट मतदान गरेका छन्।

यस्तै उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महराले रोल्पा नगरपालिका–१ को तारा मावि बामरुक मतदान केन्द्रबाट विहान ७ बजे मतदान गरे।

बुथमा एसिडः

रोल्पा नगरपालिका १० को जनता प्रावि भनभने मतदान केन्द्र बुथ ख मा मतदान गर्ने क्रममा एक मतदाताले मतपेटिकामा एसिड राखे पछि करिब ४ घण्टा मतदान मतदान स्थगित भएको भएको थियो।

उक्त वडाका राजनीतिक दल तथा उम्मेदवारहरुले जम्मा खसेको एक सय ५० मत मध्ये ४ वटा जलेका मतपत्र बाहेक अरुलाई अथावत मान्ने सहमति गरेपछि पुनःमतदान सुरु भएको थियो। मतपेटिकामा कस्ले एसिड राखेको हो भन्ने बारे खुल्न सकेको छैन। अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दशकपछि थवाङ पनि चुनावमा 

यस्तै दोस्रो संविधानसभा चुनावमा ‘नो भोट’ गरेको थवाङमा पनि अहिले उत्साहजनक मतदान भएको छ। २०६४ सालको संविधानसभा चुनावमा थवाङ गाविसबाट मात्रै तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ३६ सय मत खसेको थियो। प्रचण्डले काठमाडौंको कीर्तिपुरमा पनि विजयी भएकाले रोल्पाको निर्वाचन क्षेत्र २ छोडेपछि भएको उपनिर्वाचनमा माओवादी नेता सन्तोष बुढाले थवाङबाट मात्रै १८ सय मत प्राप्त गरेका थिए।

तर २०७० सालमा भएको संविधान सभा चुनावमा थवाङका बासिन्दाले भोट खसालेनन्। अहिले स्थानीय तहको चुनावमा थवाङका नागरिकले उत्साहजनक भाग लिएका हुन्। थवाङ, उवा र मिरुल गाविस गाभेर अहिले थवाङ गाउँपालिका बनेको छ। थवाङमा २ हजार ७ सय ३८ पुरुष र १ हजार १ सय १५ महिला गरी जम्मा मतदाता ५ हजार ८ सय ५३ जना छन्।

निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले समेत चुनावमा भाग लिएपछि थवाङ चर्चामा छ। थवाङ गाउँपालिकामा नेकपाबाट अमित घर्ती अध्यक्षको उम्मेदवार छन्। तर विप्लव नेतृत्वको नेकपाले घर्ती पार्टीमा नरहेको जनाएको छ। नेकपासँग तालमेल गरेको कांग्रेसले उपाध्यक्षमा श्रीकुमारी रोकालाई उम्मेदवार बनाएको छ। एमालेबाट अध्यक्षमा हितबहादुर रोका र उपाध्यक्षमा जनरोका छन्।

माओवादी केन्द्रबाट अध्यक्षमा वीरबहादुर घर्ती ‘वियोग’ र उपाध्यक्षमा रामकिरणी रोकामगर उम्मेदवार छन्। अप्रिय घटना हुन नदिन थवाङको सुरक्षा व्यवस्था कडा पारिएको थियो।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.