पाँच दशक लामो छापामार युद्वपछि फार्क विद्रोहीले हतियार बिसाए

पाँच दशक लामो छापामार युद्वपछि फार्क विद्रोहीले हतियार बिसाए


खतरनाक विद्रोही समूहका रूपमा परिचित कोलम्बियाको सशस्त्र छापामार समूह फार्कले औपचारिक रूपमा हतियार बिसाएको छ। विगत पाँच दशकदेखि कोलम्बियामा सशस्त्र छापामार गरिरहेको उक्त समूहले अब नयाँ राजनीतिक दलका रुपमा चुनावमा भाग लिनेछ। शान्ति सम्झौता अनुसार उक्त समूहले ७ हजार १ सय ३२ हतियार सरकारलाई बुझाएको हो।

५२ वर्ष लामो छापामार युद्वमा कोलम्बियाका २ लाख ६० हजार मानिस मारिएका थिए भने लाखौं विस्थापित भएका थिए।

विद्रोहीले बुझाएका हतियारलाई पगालेर स्मारक निर्माण गरिनेछ जसले भावी पिँढीलाई लामो पीडादायक युद्वको सम्झना गराइरहने छ र शान्तिका लागि प्रेरित गर्ने छ।

‘युद्धलाई विदाई, हतियारलाई विदाई, शान्तिलाई स्वागत,’ फार्क नेता रोड्रीगो लोन्डोनोले भनेका छन् –  ‘आज हामीले कोलम्बियालाई त्यागेका छैनौं। हामीले त हतियार मात्र त्यागेका छौं।’

अब बिद्रोहीले पार्टी पुनर्गठन गरेर नयाँ नाम राख्ने छन् र चुनावमा भाग लिनेछन्।

फार्क विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याएका कारण नोबेल शान्ति पुरस्कार जितेका कोलम्बियाका राष्ट्रपति सन्टोसले भने, ‘आज यो विशेष दिन हो। यस्तो दिन जब हतियार शब्दमा रुपान्तरण भएका छन्।’

संयुक्त राष्ट्र संघले फार्क विद्रोहीका ९०० बिष्फोटक पदार्थ रहेका स्थान मध्ये ७७ स्थान खालि गरेका छन्।

सन् २००२ मा २० हजार विद्रोही फार्क समूहमा लडाकु रहेको मानिन्थ्यो। अहिले उक्त संख्या घटेर ९००० मा झरेको छ।

ऐतिहासिक रूपले कोलम्बिया अत्यन्त धेरै आर्थिक असमानता भएको देश हो। त्यहाँको अधिकांश जमिन सानो संख्यामा रहेका धनाड्यको अधिनमा छन्।

त्यसको एउटा कारण भनेको कोलम्बिया सरकारले ऋण तिर्नका लागि १९ औं र २० औं शताब्दीमा जमिन धनाड्यहरुलाई विक्री गर्नु थियो। जमिनदार र मजदुर कृषकबीच त्यहाँ द्वन्द्व रहँदै आएको थियो।

फार्क समूह संस्थापकले मार्क्वेटालिया भन्ने क्षेत्रमा कृषि कम्युनहरू स्थापना गरेका थिए। सन् १९५० को दशकमा क्युबन विद्रोहबाट प्रेरित भएर उनीहरूले जमिन माथि अधिकार दाबी गरे।

सन् १९६० को दशकमा त्यसलाई दमन गर्न सरकारले सेना पठायो। त्यही समयमा सेनासँग भएको भिडन्त पछि आफूले छापामार युद्व शुरु गरेको फार्क विद्रोहीहरुको भनाइ छ। जानकारका अनुसार फार्क संसारको सबैभन्दा धनी विद्रोही समूह हो।

कोलम्बिया कोकिन उत्पादन गर्ने संसारको एक प्रमुख राष्ट्र हो। उनीहरूले कोकिनको ब्यापार गर्ने र कोकिन खेति गर्नेसँग कर उठाउने गर्थे।

उनीहरुले बालबालिकालाई लडाकुमा भर्ति गरेको र अपहरणद्वारा फिरौती असुली गरेको पनि आरोप छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.