आगामी भदौमा साझाले नौ वर्षदेखिको लेखा परीक्षण सार्वजनिक गर्ने 

आगामी भदौमा साझाले नौ वर्षदेखिको लेखा परीक्षण सार्वजनिक गर्ने 


साझा प्रकाशनले विगत नौ आर्थिक वर्षदेखिको लेखा परीक्षण प्रतिवेदन आगामी भदौभित्र सार्वजनिक गर्ने भएको छ ।

प्रकाशनद्वारा आइतबार आयोजित पत्रकारसम्मेलन तथा सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले आव २०६४/६५ देखि २०७२/७३ सम्मको लेखा परीक्षण नभएकाले परीक्षण गराई सार्वजनिक गर्ने बताए । ‘प्रत्येक वर्ष लेखा परीक्षण गराउनुपर्नेमा अहिलेसम्म भएको थिएन’, उनले भने ‘हामीले सो प्रतिवेदन तयार गर्न लाग्दा वर्तमान नेतृत्व र सञ्चालकप्रति विभिन्न भ्रम फैलाउने काम भएको छ ।’

यस्तै, विगतमा भएको अनियमितता छानबिनका लागि संस्थाले अध्यक्ष शर्माको संयोजकत्वमा गठन गरेको समितिले पनि भदौभित्र प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । ‘विभिन्न समयमा संस्थाको हिसाब पारदर्शी नभई आर्थिक असन्तुलनका कारण संस्थाले संकट व्यहोर्नु परेको गुनासो सार्वजनिक रुपमा आएकाले छानबिन समिति गठन गरिएको हो’, उनले भने ।

कार्यक्रममा सरकारबाट ऋण र अनुदान गरी प्राप्त रु ३० करोडमध्ये रु १४ करोड १३ लाख सोझै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई दिइएको र अन्य रकम बैंक ऋण, बक्यौता तलबलगायतमा खर्च भएको विवरण सार्वजनिक गरियो । अध्यक्ष शर्माले रु ६३ करोड घाटामा रहेकाले सरकारको सहयोगबाट मात्र चल्ने नसक्ने जनाउँदै वर्तमान व्यवस्थापन पाठ्यपुस्तक उत्पादन र लोकप्रिय पुस्तक प्रकाशनमा केन्द्रीत भएको बताए ।  संस्थाका अंशियार, पूर्वकर्मचारी र सञ्चारकर्मीले साझाबारे उठेका विभिन्न सवालबारे प्रश्न राखिएको कार्यक्रममा सञ्चालकहरु दीनानाथ शर्मा, प्रदीप नेपाल, डा कृष्णहरि बराललगायत उपस्थिति थिए । रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.