दूधको भाउ बढाउने बोर्डको तयारी

दूधको भाउ बढाउने बोर्डको तयारी


राष्टिय दूग्ध विकास बोर्डले दूधको मूल्य बढाउने तयारी गरेको छ । बोर्डले किसान तथा व्यवसायीको दबाबमा किसानले पाउने र उपभोक्ताले प्याकेटमा तिर्ने दूधको भाउ बढाउने तयारी शुरू गरेको हो ।

उत्पादन लागत उच्च भएको तथा तीन वर्षदेखि नबढेको भन्दै किसान तथा व्यवसायीले दूधको भाउ बढाउन  दबाब दिँदै आइरहेका थिए । समस्या समाधान गर्न बोर्डले गत फागुनमा वास्तविक दूध उत्पादन लागत मूल्य अध्ययन गर्न एक टोली गठन गरेको थियो ।

पशुपंक्षी मन्त्रालय, पशु सेवा विभाग, दूग्ध विकास बोर्ड र संस्थान, निजी डेरी संघ तथा किसान प्रतिनिधिहरू सम्मिलित उक्त टोलीले दूधको उत्पादन लागतको अध्ययन गर्ने, हालको गाईभैँसीपालन तरीकामा सुधार गरी घाँस, दानामा आधारित पशुपालनलाई व्यवस्थित गरी कसरी कम लागतमा बढी उत्पादन गर्न सकिन्छ भन्ने समेत अध्ययन गरेको थियो।

बोर्डका कार्यकारी निर्देशक कैलाश प्रसाद ढुुङ्गेलले अध्ययन टोलीले गाईभैंसीलाई खुवाउने पर्याप्त हरियो घाँसको उपलब्धतामा आएको कमी, दानाको भाउमा उच्च मूल्य वृद्धि, गुणस्तरीय तथा हाइब्रिड दानाको अभाव तथा किसानको दूध उत्पादन लागत मूल्य नै प्रति लिटर ५० रुपैयाँ पुगेको भन्दै प्रति लिटर ५ देखि ८ रुपैयाँसम्मको वृद्धि गरिनु न्यायोचित हुने प्रतिवेदन बुझाएपछि मन्त्रालय समक्ष मूल्य बढाउने सिफारिस गरिएको जनाकारी दिए ।

हाल किसानले दूध बेचेबापत प्रति लिटर ४५ रुपैयाँ पाउँदै आएका छन् । तर चरन, दानाको भाउ तथा ढुवानी खर्च बढेकाले हाल कच्चा दूध उत्पादन लागत बढेर ५० पुगेको सो टोलीले निश्कर्ष दिएपछि दूधको मूल्य बढ्ने भएको हो ।

‘सामूहिक तथा व्यवस्थित तरीकाबाट गाईभैँसीपालन नहुँदा दूधको उत्पादन बढ्न सकेको छैन तर लागत भने बढिरेको छ । त्यस्तै, दानाको भाउ पनि महँगिदै गएको छ । भूकम्पमा धेरै किसानका चौपाया मरेर गए ।’ उनले भने, ‘यसले पनि किसानलाई थप मार परेको छ । यी सबै कुरालाई मनन गरेर लागत मूल्यको आधारमा विद्यमान दरभाउमा केहि बढाउन सिफारिस गर्दै फाइल मन्त्रालयमा पठाएका छौँ ।’

उत्पादित दूधलाई बजारसम्म ल्याउन र भूकम्पको बेलामा धेरै चौपाया मरेर गएको तथा किसान पशुपालनबाट पलायन हुँदै गएको अवस्थालाई रोक्न समेत उचित मूल्य निर्धारण गरिनु आवश्यक रहेको जिकिर गरे ।

मूल्य मात्रै बढाउने कि उत्पादन बढाउन काम गर्ने भन्ने जिज्ञासामा ढुंगेलले आफ्नो मूख्य ध्यान उत्पादन बढाउनमै भएको र यसका लागि विभिन्न योजनाहरू बताएको बताए । ‘विगतमा हामीले उन्नत जातको गाई छिमेकी राष्ट्रबाट आयात गर्ने योजना सफल हुन सकेन । किसानलाई गाईभैंसी पालनमा प्रोत्साहन गर्न हामीले दाना, चरण क्षेत्रदेखि लिएर सामूहिक संख्यामा गाइंभैंसीपालन गरिरहेका सहकारीहरुलाई अनुदानको व्यवस्था समेत गरेका छौँ,’ उनले भने ।

उनले मध्यपहाडी र हुलाकी लोकमार्गमा पर्ने केहि स्थानहरूको छनोट गरी गाईपालनको ‘हब’ बनाएर उत्पादन बढाउने योजना रहेको बताए ।
नेपाल डेरी एशोसिएशनका अध्यक्ष सुमित केडियाले विगत तीन वर्षदेखि मूल्य समायोजन नभएकाले डेरी क्षेत्रलाई बचाई राख्न दूधमा मूल्य वृद्धि गर्न आवश्यक रहेको बताए ।

अध्ययन समितिका सदस्य समेत रहेका उनले भने, ‘भूकम्प र नाकाबन्दीले हरेक कुरामा चर्को मूल्य वृद्धि भएको छ । उद्योगको उत्पादन लागत समेत ह्वातै बढेर गएको छ । तर हामीले जसरी भएपनि चलाइरहेका छौँ। किसान स्वयमको दूध उत्पादन लागत ५­६ रुपैयाँ बढेको अध्ययनबाट पाइएको छ। त्यसैले पनि भाउ बढाइनु पर्छ भन्ने हाम्रो निश्कर्ष रहेको छ।’

उनले बढेको मूल्यको ६९ प्रतिशत किसानमा जाने र ३१ प्रतिशत उद्योगको भागमा जाने दुई पक्षको यसअघिकै साझा सहमति मुताबिक र हालको लागत परिणाम हेरेर प्रति लिटर ६ देखि ८ रुपैयाँ बढाउन सिफारिस गरिएको जानकारी दिए ।

पशुपंक्षी मन्त्रालयका सहसचिव एवंम प्रवक्ता श्यामप्रसाद पौडेलले बोर्डले मूल्य बढाउन सिफारिस गरेको भन्दै एक कार्यदलले त्यसको अध्ययन गरिरहेको बताए । उनले कति र कहिलेसम्म मूल्य बढ्ने हो भन्ने केही खुलाएनन् ।

हाल प्रति लिटर निलो प्याकेट (स्टयान्डर्ड दुध) को ६४, गाईको दूधको ७२ तथा हरियो प्याकेट (फ्याटयूक्त दूधको) ८० रुपैयाँ पर्छ ।
यसअघि २०७२ मा किसानको दबाब झेल्न नसकेर डीडीसीले एकैचोटी दूधमा प्रति लिटर ८ देखि १० रुपैयाँ भाउ बढाएको थियो । तर दूधको मूल्य बढाएपनि उत्पादन भने बढ्न सकेको छैन ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार एक व्यक्तिको प्रति वर्ष ९१ लिटर दूधको उपलब्धता हुनुपर्नेमा नेपालमा भने प्रतिवर्ष उपलब्धता ७१ लिटरभन्दा बढी बढ्न सकेको छैन ।

तथ्यांकका अनुसार उत्पादित दूधको १५ प्रतिशत मात्र डेरी लगायतका औपचारिक क्षेत्रमा आइपुग्छ भने ३५ प्रतिशत स्थानीयस्तरका चियापसल, मिठाई पसल तथा बाँकी ५० प्रतिशत किसान स्वयमले खपत गर्ने गर्छन् ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.