पुरुषमा बढ्दो स्कुटर मोह

पुरुषमा बढ्दो स्कुटर मोह


बौद्धका सोनाम छिरिङ शेर्पा यामाहाको फ्यासिनो स्कुटर चढ्छन्। उमेरले २१ वर्ष पार गरेका उनले पहिले स्कुटर चढ्दैनथे। उनले पहिले भिआर बाइक चलाए। नेपालमा पनि स्टाइलिस स्कुटरको लहर चलेपछि उनलाई पनि स्कुटरले मोहित बनायो।

हिमालयन ह्वाइट हाउस कलेजमा बिबिए छैठांै सेमेस्टर अध्यनरत उनी दैनिक स्कुटरमै कलेज जान्छन्। चलाउन सजिलो, गियरको झन्झट नहुने, स्टाइलिस, व्याग राख्ने प्रयाप्त ठाउँ आदी कारणले उनले बाईक छोडेर स्कुटर रोजेको बताउँछन्।

‘लामो दुरीको तथा खाल्डाखुल्डी बटोमा त बाईक उपयुक्त हुन्छ भन्नेमा दुई मत छैन तर काठमाडौं उपत्यकाभित्र मलाई बाइक भन्दा स्कुटर उपयुक्त लाग्यो’ उनले सेतोपाटीसँग भने।

त्यस्तै अनामनगरका विकास श्रेष्ठ होन्डाको एभिएटर चलाउँछन्। करिब ६ वर्ष विभिन्न कम्पनीका मोटरसाइकल चढिसकेपछि उनलाई स्कुटरले आकर्षित बनाएको हो। पेशाले कपडा व्यापारी श्रेष्ठ होलसेलबाट थोरै कपडा ल्याउनु परेमा ट्याक्सी लिनुनपर्ने, यात्रा गर्दा सिटमुनीको डिक्कीमा समेत महत्वपुर्ण सामान राख्न सकिने भएका कारण स्कुटर किनेको बताउँछन्।

‘बाइक हुँदा मैले मात्र चलाउथेँ, श्रीमतीलाई कतै जानु पर्यो भने सार्वजनिक यातायात कि ट्याक्सी नै चढ्नुपर्ने बाध्यता थियो तर स्कुटर किनेपछि हामी दुवैलाई काम दिएको छ’ उनले सेतोपाटीसँग भने।

पछिल्लो समय छिरिङ र विकास जस्ता हजारौ पुरुषहरुले स्कुटर चलाएको देख्न सक्छौँ। कोही रहरले त कोही कहरले भनेपनि स्कुटर चलाउने पुरुषको संख्या ह्वात्तै बढेको छ। ‘स्कुटर’ भन्ने वित्तिकै साधारणतया हाम्रो दिमागमा महिलाले चलाउने सवारी साधन भन्ने आउँछ।

हुन पनि सामान्यतया स्कुटर महिलाले नै चलाउँछन्। केही वर्ष अगाडिसम्म सडकमा गुड्ने स्कुटर करिव सबै महिलाले नै चलाएको देखिन्थ्यो भने आजकाल स्कुटर चलाउने पुरुषको संख्यामा पनि उल्लेख्य बृद्धि भएको छ।

स्कुटर र मोपेड चलाउनको लागि मात्र मान्य हुने ‘के’ बर्गको सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिने पुरुषको संख्या उल्लेख्य भएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डे बताउँछन्। ‘के’ बर्गको लाइसेन्सको लागि आवेदन दिने मध्य करिव १० प्रतिशत पुरुष हुने पाण्डेले जानकारी दिए।

विशेषतः युवा पुरुषले भेष्पा, स्कामोदी लगायतका स्टाइलिस स्कुटर रुचाउने गरेको पाइन्छ। भेष्पा स्कुटर खरिद गर्ने मध्य करिव ४० प्रतिशत पुरुष रहेको भेष्पा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता डी–लाइफस्टाइल्स प्रालिका मार्केटिङ अफिसर सुनिल चौधरीले जानकारी दिए।

स्कुटरमा पु्रुषको आकर्षणसँगै विभिन्न कम्पनीहरुले सेतो, कालो आदी रङको स्कुटर उत्पादनमा जोड दिइरहेका छन्। स्कुटरको यो क्रान्ति यसरी नै बढ्ने हो भने स्कुटर चलाउने पुरुषको संख्या महिलाको बराबर हुन धेरै समय नलाग्ला। स्कुटरमा लामो दुरीको यात्रा गर्न अलिक कठिन भएपनि कुनै ठाउँ विशेषमा बसेर काम गर्नेको लागि योे अति उपयोगी साधन हो।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.