पाल्पामा ६४३ उद्योग दर्ता, सबैभन्दा बढी वाणिज्यतर्फ

पाल्पामा ६४३ उद्योग दर्ता, सबैभन्दा बढी वाणिज्यतर्फ


घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७३/७४ मा ६४३ उद्योग दर्ता भएका छन् । वाणिज्यतर्फ ३९७ र उद्योगतर्फ २४६ उद्योग दर्ता भएका हुन् ।

वाणिज्यतर्फका ४६५ वटा उद्योग नवीकरण, १७५ संशोधन र ६० वटा फार्म खारेजी भएको छ । विसं २०७२/७३ मा ३२९ वटा फार्म दर्ता भएका थिए भने १२६ वटा नवीकरण, ६० वटा संशोधन र ३२ वटा उद्योग खारेजी भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख बालकृष्ण गैरेले बताए ।

उद्योगतर्फ २४६ दर्तामध्ये लघु उद्यम फार्म दर्ता ७० वटा, निजी (घरेलु तथा साना उद्योग) फार्मतर्फ १६६ वटा, साझेदारीतर्फ चारवटा, कम्पनी दर्ता पाँचवटा र घरेलुतर्फ एउटा उद्योग दर्ता भएको गैरेले बताउनुभयो । उत्पादनमूलकमा ४३, कृषि तथा वन्यजन्यमा ६९, पर्यटनमा ७७, सेवामूलकतर्फ ५७ रहेको कार्यालयले जनाएको छ ।

आव २०७२/७३ मा उत्पादनतर्फ ४३ वटा, कृषि तथा वन्यजन्य ८६, पर्यटनअन्तर्गत ६२, सेवा उद्योगतर्फ ६७ गरी जम्मा २५८ वटा उद्योग दर्ता भएका थिए । जिल्लामा हाल एक हजार ९५४ उद्योग दर्ता भई सञ्चालनमा रहेका छन् । आव २०७३/७४ मा ३८ वटा उद्योग महिलाको नाममा दर्ता भएको पाइएको छ । सिलाइ कटाइ, ढाका कपडा उद्योग, कृषि, ब्युटिपार्लरजस्ता उद्योग महिलाको नाममा दर्ता भई हाल सञ्चालनमा रहेका छन् । रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.