‘सोचेजस्तो छैन जीवन, सम्झे जस्तो हुन्न अस्ट्रेलिया’

‘सोचेजस्तो छैन जीवन, सम्झे जस्तो हुन्न अस्ट्रेलिया’


प्रवासी जीवन सुइको घडीसँगै दौडने गर्छ। अर्लाम र घडीको सुइसँगै हुँइकिन नसक्दा प्राय सबैले प्रवासलाई धिक्कार्ने गर्छन्। विश्वको सबल अर्थतन्त्र भएका मुलुकहरु अमेरिका, अस्ट्रेलिया लगायतका देशमा त झनै समयको खेल बेग्लै हुन्छ।

अर्थ आर्जनका लागि स्वप्नलोक मानिने अस्ट्रेलिया र अमेरिकामा बस्ने नेपालीको जीवनशैली पनि घडीकोसुइ भन्दा कम छैन, अपवादबाहेक। स्रोतमा प्रचुरता र अलौकिक भुगोल अनि भौतिक विकाशले पनि अस्ट्रेलिया सबैको आँखाको तारो बन्दै आएपनि जीवनशैली सहज भने छैन प्रवासमा। समुन्द्रका किनारमा खिचिएका सुन्दर तस्वीर अनि गगनचुम्बी भवन मुनी कलेजी ओठलाई फोटोसपले लुकाएर फेसबुकमा पोष्ट गरिएका तस्वीरले स्वदेशमा फुर्ती बढाएपनि मनैदेखी खुसी भएकाहरु कमै देखीन्छन् यहाँ।

विद्यार्थी भएर छिरेका प्राय नेपालीहरु अमेरिका र अस्ट्रेलिया जस्ता विकशित देशमा यस्तो माया जालमा फस्छन कि उनिहरु न निस्कन सक्छन न त उम्कन नै।

प्रारम्भमा निकै कठिन विद्यार्थी जीवनपछि आवासीय भिषाको चक्करमा उनिहरुको लामो समय गुज्रिसकेको हुन्छ। केहि बचाउँ वा केहि गरौं भन्ने बेलामा युनिर्भसिटीको फी तिर्दै सकिन्छ , जब आवासीय भिषा प्राप्त हुन्छ तब उनिहरु पारिवारीक र किस्तामा फसी सकेका हुन्छन। जाउँ त कसरी जाउँ, नजाउँ त मातृभूमिको न्यास्रोबिचको त्यान्द्रोले छोएपछि प्रवासको जीवन एनआरएनको नाममा टिकट काटिन्छ।

प्रारम्भमा पैशा कमाएर स्वदेश फर्कन्छु भन्ने नेपालीहरु यस्तै यस्तै चक्करमा रुमल्लिएर प्रवासी भएको हामीले धेरै देखेका छौं। तर प्रवासी जीवनमा रमाउने पनि उत्तिकै छन।
व्यक्तिगत र आर्थिक सुरक्षा र काम गर्ने वातावरणका कारण पनि मानिसहरु स्वदेश फर्कन डराउँछन्।

करिब २० बर्ष अस्ट्रेलिया बसेका हरि पोखरेल नेपालमा बस्ने भन्दा प्रवासमा बस्नेहरुलाई मुलुक प्राणभन्दा प्यारो हुने बताउँछन्।

उनले मानिस मुलुकको डाँडाकाडाँ पाखा, पखेरा अनि संस्कार र संस्कृतिमा लालयित हुने तर फर्कन पनि नसक्ने बताए। यँहा मानिस एउटा यस्तो जीवनमा दौडिसकेका हुन्छन जहाँ पुर्ण बिरामले उठि बास नै लाग्न सक्छ। अष्ट्रेलियामा माइग्रेशन एजेन्ट समेत रहेका पोखरेलले आफ्नो अनुभव सुनाए।

उमेर र शरीरले यँहाको जीवन शैलीलाई जित्न सक्नु पर्छ, जुन दिन कामलाई जितिदैन त्यो दिन हारेको सिपाहीझैं मुन्टो निहुराउनु बाहेक केहि हुँदैन यहाँ। हुन सक्छ यी कुराहरु केहि नगन्य प्रतिशतमा लागु नहुन सक्छ तर लगभग शतप्रतीशतको भोगाइ यस्तै छ प्रवासमा।

आवासीय भिषामा रहेका सीड्नीवासी कोम खत्रीले आफ्नो अनुभव साट्दै भन्छन्, ‘ क्यास झिकेर घर किन्न सकिदैन, किस्तामा सहजै पाइन्छ यहाँ। घर, गाडी, फर्निचर अनि आवश्यक सबै बस्तु किस्तामा सहजै पाइन्छ। तर किस्तामा बितेको जीवनले भने स्वतन्त्रता गुमाउँदो रहेछ।’

उनले अब सबै जीवन किस्तामा चलेपछि त्यही अनुरुपको कमाउनु पर्ने, तिर्नु पर्ने, त्यसका लागि सोही अनुरुप काम गुर्न पर्ने भएपछि स्वदेश फर्किएर जाउँ भन्ने सोचको अवासान त्यही हुने बताए।
समग्रमा कोम यसलाई बाध्यताको हाँसो भन्न रुचाउँछन। उनी भन्छन्, ‘लाइफ स्टाइल सहज छ, भौतिक तथा आर्थिक सुरक्षाको ग्यारेन्टी छ तर सबै चिज हुँदाहुँदै पनि एउटा चिज नभएको जस्तो हुन्छ, त्यो हो आफ्नोपन।’

युनिभर्सिटी अफ न्युइङ्ल्यान्डवाट फाइनान्समा पीएचडी सकेर अध्यापन पेशामा संलग्न डा रवी पौडेल अष्ट्रेलिया जस्तो मुलुकमा करिअर र व्यवसायिक दक्षताका आधारमा पाँच प्रतिशत नेपाली खुसी देखिएपनि ९५ प्रतिशत मानिस आत्मसन्तुष्ट नरहेको तर्क गर्छन। सामाजिक सम्पतिका रुपमा रहेको संस्कार र संस्कृती गुमाउँदै गएको परिस्थितिमा थुप्रै हाम्रो जस्तो साना मुलुकबाट आएका मानिसहरु अबको ३० बर्षमा स्वास्थ्य समस्याबाट पीडित हुन सक्ने उनको तर्क छ।

उनी भन्छन्, ‘अहिले पैसाका लागि दिन रात नभनी काम गर्न जमात अबको १५ बर्षपछि खराब स्वास्थ्यको समस्याबाट गुज्रन सक्छन, त्यसले भविष्यमा कस्तो खालको परिणाम ल्याउँछ मैले बुझेको छैन।’
विद्यार्थी हरु स्वास्थ्यको ख्याल नगरि दिनरात काम गरेको मैले देखेको छु। यो राम्रो होइन, यसले निकट भबिष्यमा मानसिक र शारीरिक रुपमा निकै प्रभाव पर्छ।

कुनै मानिसलाई कसैले धकेलेर वा जवरजस्ती बिदेश पठाएको हुँदैन। रहर वा बाध्यताले नै अवसरको खोजिमा मानिस बिदेसिन्छन। त्यसैले यसका लाभ र हानीका पक्षमा आ-आफ्नै तर्क र बितर्क पाइन्छन्। तर प्रवासी जीवन सोचे जस्तो सहज र भने जस्तो कमाउ छैन भन्ने कुराको हेक्का भन्ने सबैले राख्नुपर्छ।

अन्तमा तारादेवीको एउटा गीतलाई सम्झन चाहन्छु।
सोचे जस्तो हुन्न जीवन ,सम्झे जस्तो हुन्न जीवन ।
जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन।
पीडाहरु बटुलेर रोइरहुँ जस्तो लाग्छ।
खुसीहरु समेटेर हासीरहुँ जस्तो लाग्छ।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.