राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रस्तावहरू एकपछि अर्को गर्दै असफल हुने क्रममा शुक्रबारको प्रारम्भमा अर्को झट्का लागेको छ। अमेरिकी सिनेटले शुक्रबार बिहान पूर्वराष्ट्रपति बाराक ओबामाको स्वास्थ्य रेखदेख कानून (ओबामा केयर) को केही भागलाई निस्तेज गर्ने –‘स्किनी रिपिल’ नामक प्रस्तावित विधेयकलाई नाटकीय रूपमा खारेज गरेको छ।
ओबामा केयरको विकल्पमा दुई वर्ष भित्र अर्को नयाँ विधेयक ल्याउन तथा ओबामा केयरको केही भागलाई निस्तेज गर्ने –‘स्किनी रिपिल’ नामक प्रस्तावित विधेयकलाई रिपब्लिकनहरूको बहुमत भएको अमेरिकी सिनेटमा ४९ भोटको विरूद्ध ५१ भोटले खारेज भएको हो।
जोन म्याकेनका साथ बिपक्षमा भोट दिनेमा अलास्काका रिपब्लिकन लिसा मुर्कोव्स्की तथा मेनका सुसान कोलिन्स थिए।
गत मंगलबार स्वास्थ्य सेवा कार्यक्रमलाई हटाउने विषयमा बहस शुरू गर्न मतदान गरिएको थियो।
रिपब्लिकनका प्रभावशाली नेता जोन म्याकेनले एक ट्वीट गर्दै स्किनी रिपिलले रिपब्लिकनको बचन अनुरुप ओबामा केयरलाई निस्तेज पारी नयाँ बिमा योजना नदिएकोले यो बिधेयक असफल भएको भनेका छ्न्।
Skinny repeal fell short because it fell short of our promise to repeal & replace Obamacare w/ meaningful reform https://t.co/tZISIvccOO
— John McCain (@SenJohnMcCain) July 28, 2017
स्किनी रिपिल नामक प्रस्तावित विधेयकलाई असफल बनाउन रिपब्लिकनका प्रभावशाली नेता सेन जोन म्याकेनले विपक्षमा निर्णायक भोट हालेका थिए। जोन म्याकेन मस्तिष्क क्यान्सरको उपचार पश्चात यसै साता सिनेट फर्केका थिए ।
सिनेटमा स्किनी रिपिल असफल भएपछि रिपब्लिकनका नेता मिच म्याक कोनेलले यो स्पष्ट रूपमा एक निराशाजनक क्षण भएको बताउँदै आफ्नो पार्टीको प्रयास पर्याप्त नभएकोमा खेद ब्यक्त गरे।
3 Republicans and 48 Democrats let the American people down. As I said from the beginning, let ObamaCare implode, then deal. Watch!
— Donald J. Trump (@realDonaldTrump) July 28, 2017
आफ्नो महत्वकांक्षी योजना असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक टुयिट गर्दै भनेका छ्न्-‘३ रिपब्लिकन र ४८ डेमोक्रेट्सले अमेरिकी जनतालाई तल झारेका छन्। मैले पहिलेदेखि भन्दै आएको थिए ओबामा केयरलाई निस्तेज पारौं,त्यस पश्चात सम्झौता गरौं।’