कछुवा गतिमा राजधानीका नदी कोरिडोर

कछुवा गतिमा राजधानीका नदी कोरिडोर


काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनमा महत्वपूर्ण मानिएका खोला किनारका कोरिडोर निर्माणमा सोचेजति प्रभावकारी काम हुन नसकेको सरकारी अधिकारीले नै स्वीकार गरेका छन् । यो खबर आजको गोरखापत्रमा छापिएको छ।

बागमती र धोबीखोला कोरिडोरबाहेक अन्य कोरिडोरमा निर्माणकार्य तोकिएको लक्ष्यअनुसार हुनसकेको छैन भने बजेट उपलब्ध भएर पनि खर्च हुनसकेको छैन ।

सरकारले धोबी खोला, बागमती, विष्णुमती, नख्खु खोला, महादेव खोला र साङ्ला खोला कोरिडोर निर्माण सुरु गरेको छ । खोला कोरिडोरमा सडक निर्माण गर्नुको ध्येय खोला संरक्षण र सौन्दर्यीकरण गर्नु भए पनि तोकिएको समयमा निर्माण नहुनाले स्थानीयवासीलाई राहत होइन, आहत मात्रै दिएको छ ।

सरकारले निर्माणकार्यमा प्रगति भएको ठानेको धाबीखोला कोरिडोरका कारण पानी पर्दा हिलो र सुख्खा हुँदा धुलोको मारमा राजधानीवासी परेका छन् । आयोजनाको सडक किनारमा गरी कूल २२ किलोमिटर ट्र्याक खुलेको छ । तर, ट्र्याक खोलेकोमध्ये ५०० मिटर सडक पहिरोका कारण क्षतिग्रस्त  छ ।

यो सडकखण्डमा आयोजनाले ६ किलोमिटर कालोपत्रे गर्ने भनेर ठेक्का गरेको भए पनि आर्थिक वर्ष २०७३÷७४ मा दुई किलोमिटर मात्रै सडक कालोपत्र भएको सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले जानकारी दिनुभयो ।

आयोजनाको पूरै सडकखण्डमा ढल राख्ने कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भए पनि हालसम्म १२ किलोमिटर क्षेत्रमा मात्रै ढल राखिएको छ । आयोजनाका लागि गत आर्थिक वर्ष २०७३/७४ मा ४५ करोड रुपियाँ बजेट विनियोजन भएको भए पनि तोकिएअनुसार काम हुनसकेन । आयोजनाका लागि थप रु. ६० करोड लगानी आवश्यक पर्ने सहरी विकास मन्त्रालयले जानकारी दिएको छ । तर, मन्त्रालयले आयोजनालाई बहुवर्षीय ठेक्कामा लगाउने र आगामी दुई वर्षभित्र मात्रै सम्पन्न हुने जनाएको छ ।

मागअनुसारको बजेट प्राप्त भए ढल कालोपत्रे, टेवा पर्खाललगाउने कार्यसमेत सम्पन्न हुने र एउटा महत्वपूर्ण आयोजना सम्पन्न हुने मन्त्रालयको विश्वास छ । तर स्थानीयवासीले भने सरकारले भन्दै आएअनुसार आयोजनामा प्रगति नभएकोमा गुनासो गरेको र गुनासो समेत जायज नै रहेको सचिव शर्माको भनाइ छ ।

यस्तै लामो समयदेखि चर्चामा रहेको तर कार्यप्रगति सोचअनुसार हुन नसकेको अर्को आयोजना हो –बागमती कोरिडोर । आयोजनामा हालसम्म २० किलोमिटर कोरिडोर र ढल बिच्छ्याउने कार्य सम्पन्न भएको छ भने १३ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ । नदी किनारलाई सुन्दर बनाउन, रुख बिरुवा रोप्ने कार्यका लागि मात्रै दुई अर्ब ५० करोड रुपियाँको ठेक्का सम्झौता भइसकेको छ । यस आयोजनाका लागि चालु आर्थिक वर्षमा ७० करोड रुपियाँ विनियोजन भएकोमा ६ किलोमिटरमा ढल र कालोपत्रे गरिने सचिव शर्माले जानकारी दिनुभयो।

उपत्यकाको अर्को महत्वपूर्ण नदी विष्णुमतीको व्यवस्थापन कार्य अगाडि बढे पनि तोकअनुसारको प्रगति हुनसकेको छैन । गत आर्थिक वर्षमा नै १२ किलोमिटर क्षेत्रमा नदी संरक्षण र पर्खाल लगाउनुपर्ने भए पनि पाँच किलोमिटर क्षेत्रमा मात्रै निर्माण सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा आयोजनाको कामलाई गति दिने मन्त्रालयको भनाइ छ ।

नख्खु खोलामा गत आर्थिक वर्षभित्र तीन किलोमिटर कोरिडोर खोल्नुपर्ने योजना रहे पनि सरकारी निकायले ध्यान नदिएको, निर्माण व्यवासायीले तोकिएको समयअनुसार काम नगर्दा २७२ मिटर सडक मात्रै निर्माण हुनसकेको छ । आयोजनाका लागि चालु आवमा दुई करोड रुपियाँ बजेट विनियोजन भएको र सम्पन्न हुन ४५ करोड रुपियाँ लाग्ने मन्त्रालयले जानकारी दिएको छ । आयोजनालाई पनि बहुवर्षीय आयोजनाको रूपमा राखिएको छ ।

साङ्ला खोला कोरिडोरको दुई किलोमिटर मात्रै कोरिडोरको ट्र्याक खोलिएको छ । यो आयोजनाको लागि गत आर्थिक वर्षमा तीन लाख ९६ हजार रुपियाँ मात्रै खर्च गरिएको छ । बजेट दुई करोड रुपियाँ विनियोजन भए पनि खर्च हुनसकेन । थप बजेट माग भएको र परियोजना अगाडि बढ्ने मन्त्रालयको विश्वास छ । महादेव खोला कोरिडोर पनि तीन किलोमिटर मात्रै ट्र्याक खोलिएको छ । आयोजनाका लागि १७ करोड रुपियाँ बजेट प्राप्त भए पनि १५ करोड रुपियाँ मात्रै खर्च भएको छ ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.