प्लेब्वाई मोडलसँग सलमान खान

प्लेब्वाई मोडलसँग सलमान खान


बलिउड स्टार सलमान खान र दुईवटा विषय सँगसँगै जोडिएर आउँछ – अदालतको मुद्दा र नयाँ अभिनेत्रीहरूसँग अफेयरको चर्चा।

यो अदालतको मुद्दासँग सम्बन्धित घटना होइन। यो घटना हो, उनको अफेयरको। बलिउडका विभिन्न अभिनेत्रीसँग नाम जोडिने र पछि ब्रेकअपको हल्ला चल्नमा सलमान खान चर्चित छन्।

यही सिलसिलामा उनको नाम एक जना ‘प्लेब्वाई’ मोडलसँग जोडिएको छ। उनलाई हालै ‘टाइगर जिन्दा है’ फिल्मको सुटिङ क्रममा प्लेब्वाई मोडल रोन्जा फोर्चरसँग देखिएको थियो।

मोडलहरूको नग्न तस्बिर प्रकाशित गर्ने यो अमेरिकी पत्रिकाले आफ्नो अप्रिल अंकमा फोर्चरको आवरण तस्बिर प्रकाशित गरेको थियो। २१ वर्षका यी अस्ट्रियन मोडलले ‘टाइगर जिन्दा है’ को सेटमा सलमान खानसँग खिचाएको तस्बिर चर्चामा रहेको बलिउड हंगामा डटकमले जनाएको छ।

बलिउडका खबर प्रकाशित गर्ने यो वेबसाइटका अनुसार ‘टाइगर जिन्दा है’ को सुटिङ अस्ट्रियामा भएको बेला उक्त तस्बिर खिचिएको थियो। उक्त फिल्ममा प्लेब्वाई मोडल फोर्चरले सलमानसँग कुनै भूमिका पनि निर्वाह गर्दैछन् कि छैनन् भन्ने खुलासा भइसकेको छैन। उनी सलमान खान अस्ट्रियामा सुटिङ गर्न आएको थाहा पाएर त्यही मौकामा भेट्न सुटिङ स्थल पुगेको हुनसक्ने अनुमान गरिएको छ।

‘टाइगर जिन्दा है’ यसअघि सन् २०१२ मा रिलिज भएको सलमान खानकै ‘एक था टाइगर’ को दोस्रो शृंखला हो। सलमानले उक्त फिल्ममा भारतीय खुफिया एजेन्सी ‘र’ का एक जासुसको भूमिका निर्वाह गरेका छन्। उनी पाकिस्तानी खुफिया एजेन्सी ‘आइएस’ की जासुस बनेकी कट्रिना कैफसँग प्रेम गर्न थाल्छन्। फिल्मको अन्त्यमा सलमान र कट्रिना फरार भएको र दुवै देशका खुफिया एजेन्सीहरूले उनीहरूको धुइँपत्ताल खोजी गरिरहेको देखाइएको छ।

फिल्मको यो दोस्रो संस्करण ‘टाइगर जिन्दा है’ मा उनीहरू कहाँ गए र के गर्दैछन् भन्ने विषयवस्तु समेटिएको छ। फिल्मका निर्देशक अली अब्बास जफर हुन्, जसले यसअघि सलमान खानसँग ‘सुल्तान’ बनाएका थिए। यो फिल्ममा पनि सलमानसँग कट्रिना कैफ नै देखिनेछन्।

‘टाइगर जिन्दा है’ यसै वर्ष डिसेम्बर २२ मा रिलिज हुने बलिउड हंगामा डटकमले जनाएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.